हिलोका कारण दाउन्नेको सडक अवरुद्ध
रामकुमार श्रेष्ठ –
नवलपुर । गएराति परेको पानीले सडक हिलाम्य भएपछि पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक अवरुद्ध भएको छ ।
यहाँ अहिले सवारी साधन चिप्लिने र उकालोमा स्लिप खाने भएको कारण सवारी साधन आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
दाउन्नेमा सडक हिलाम्य र धुलाम्य भएको भन्दै चैत्र २७ गतेदेखि दैनिक ६ घण्टा सडक बन्द गरेर काम गरिएको भए पनि प्रगति हुन सकेको छैन ।
अहिले पनि राति ११ बजेदेखि विहान ५ बजेसम्म सडक बन्द गरेर सडक मर्मत तथा विस्तारको काम गरिएको छ ।
सडक अवरुद्ध हुँदा यात्रुहरु विचल्ली परेका छन् । प्रहरीले सूचना जारी गरी सडक अवरुद्ध भएको कारण वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।