जंगली जीव जनवारबाट रक्षा गर्न बोटे समुदायले गरे नदी पुजन
रामकुमार श्रेष्ठ –
नवलपुर । बोटे समुदायले बर्षमा एक पटक गर्ने नदी पुजन अर्थात बड्को बार्ना पुजा यस बर्ष पनि गरेको छ । आज कावासोती १५ अमलटारीमा खोला किनारमा जम्मा भएर नवलपुरका बोटे समुदायले बड्को बार्ना पुजा गरेका हुन् ।
नवलपुरको कावासोती, मध्यविन्दु, देवचुली, गैडाकोट लगायतका क्षेत्रमा रहेको बोटे समुदायहरु आज कावासोतीमा जम्मा भएका थिए । उनीहरुले कुखुरा परेवा लगायतका बली चढाएर नदी पुजा गरेका थिए भने नारायणी नदीबाट सुन खोजी ल्याएर चढाएर पनि पुजा गरेका थिए ।
खोला नदीका देवीदेउताले बोटे समुदायलाई जंगली जीव जनवारहरुबाट संरक्षण हुन्छ भन्ने विश्वासका कारण बोटे समुदायले परम्परागत रुपमा नदी पूजन गर्ने चलन रहेको बोटे समुदायका अगुवाहरु बताउँदछन् ।
आज भएको नदी पुजन कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।
बोटे समुदायमा पुर्खौदेखि मुखिया छान्ने प्रचलन रहेको छ । सोही मुखिया र बोटे समुदायको गुरौंले विधि पूर्वक नदी पुजन बड्का बार्ना पुजा गर्ने प्रचलन रहेको छ । उनीहरुले जिल्ला भरी रहेको बोटे समुदायबाट आर्थिक संकलन गरेर नदी पूजन गरेका हुन् ।
बोटे समुदायका मुखिया कलराम बोटेले बोटे समुदायले रातविरात नभनी नदी जंगल खोला नाला हिड्ने गरेका कारण जंगली जीवजनवार, वन्यजन्तु, प्रेतआत्मा आदिबाट दुख नहोस भनेर पूजा गरिएको बताए ।
बोटे समुदायले एक बर्ष कुखुरा र परेवा बली दिने प्रचलन छ भने अर्को बर्ष पाठी र सुंगुर बलिदिने प्रचलन छ । नदी पुजा सकेपछि सबै बोटे एकैठाउँमा जम्मा भएर प्रसाद लिएपछि पुजा सकिने प्रचलन रहेको छ ।