पश्चिम नवलपरासीमा ३० लाख बढीको अवैध सामग्री बरामद
कुसुम परियार –
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ६ बेतानी स्थित बर्दघाट त्रिवेणी भित्री सडक खण्डमा प्रहरीले ३० लाख ५३ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ ।
सडक किनारमा वेवारिसे अवस्थामा फेला परेको सेतो रंगको प्लाष्टिकको बोराभित्र १३ कार्टुन र निलो रंगको प्लाष्टिककोे बोराभित्र १६ कार्टुन अवैध सामग्री फेला परेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दिपेन्द्र बानिँयाले बताउनुभयो ।
उक्त कार्टुनभित्र ठुलो पित्तलको मुर्ति १५ थान, सानो पित्तलको मुर्ति ३६० थान, एयर फोन ४ कार्टुन अर्थात ८ हजार थान, आईफोनका एयरबड्स ३ कार्टुन अर्थात ३ सय थान, मोबाईल कभर ३ कार्टुन १५ सय थान, मोबाईल ग्लास १५ कार्टुन १५ हजार पिस गरि ३० लाख ५३ हजार बराबरको अवैध सामग्री फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक बीरदत्त पन्तले जानकारी दिनुभयो ।
बरामद सामग्री आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।