नवलपुर एफएमद्वारा आयोजित रक्तदानमा ७२ जनाले गरे रक्तदान



नवलपुर ।
नवलपुरको कावासोतीमा रहेको नवलपुर एफएमद्वारा सोमबार स्वर्गीय पत्रकार तिर्थराज भुसालको स्मृतिमा वृहत रक्तदान कार्यक्रम भएको छ ।



सोमबार भएको रक्तदान कार्यक्रममा ७२ जना जनाले रक्तदान गरेको नवलपुर एफएमकी कार्यकारी निर्देशक राधिका भुसालले बताइन् । ७ जना महिला र ६५ जना पुरुष सहित आज ७२ जना रक्तदाताले रक्तदान गरेका हुन् । नवलपुर एफएमका स्थापक स्व. पत्रकार तिर्थराज भुसालको ३८ औं स्मृतिमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा १६ जना नयाँ रक्तदाताले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा नवलपुर रक्त सञ्चार केन्द्र, नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले प्राविधिक सहयोग गरेको थियो भने तरुण दल कावासोती, नेविसंघ कावासोती र मेलान नवलपुरसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना भएको थियो ।



रक्तदान कार्यक्रममा उद्घाटन नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले रक्तदान जस्तो पुण्य काम सञ्चारमाध्यमले गर्नु स्राहनीय काम भएको बताए ।

त्यसैगरी कार्याक्रममा कावासोती ३ का वडाध्यक्ष डोरमान गिरीले नवलपुर एफएमले गरेको सामाजिक कार्यको प्रसंशा गर्दै यस्ता कार्यक्रममा सबैले साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कावासोती उप शाखाका अध्यक्ष अमृता सिग्देलले नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाले सञ्चालन गरेको रक्त संचार केन्द्रमा प्राय जसो रगत अभाव भईरहने गरेका कारण सबैले रक्तदान कार्यक्रम गर्न र रक्तदान गर्न आग्रह गरे ।

नवलपुर एफएमका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा भएको रक्तदान उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, पत्रकार, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, रेडक्रसकर्मी, स्थानीय संघसस्थाका प्रतिनिधि, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...