चितवनमा अत्यधिक गर्मी : तीन पालिकाको विद्यालय बन्द




भरतपुर । चितवनमा अत्यधिक गर्मी बढेपछि यहाँका तीनवटा पालिकाले विद्यालय बन्द गराएका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले विद्यालय बन्द गराएका हुन् ।

अत्यधिक गर्मीका कारण विद्यालयमा विद्यार्थीमा टाउको दुख्ने, वान्ता हुनेजस्ता समस्या देखिन थालेपछि पालिकाहरुले विद्यालय बन्द गराएका हुन् । भरतपुर महानगरपालिकाले आगामी शुक्रबारसम्म विद्यालय बन्द गरेको जनाएको छ ।



महानगरले अत्यधिक गर्मीका कारण आज बुधबार, बिहीबार र शुक्रबार विद्यालय बन्द गरेको हो । महानगरले संस्थागत तथा सामुदायिक विद्यालय बन्द गरेको हो । मन्टेश्वरी स्कुललाई समेत महानगरले बन्द गर्नको लागि आह्वान गरेको छ ।

चर्को गर्मीका कारण रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले पनि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेका छ । रत्ननगर र खैरहनी नगरपालिकाले आज बुधबार एक दिन विद्यालय बन्द गरेको छ ।

गर्मीका कारणले सबैभन्दा बढी विद्यालय जाने बालबालिका प्रभावित भएका पालिकाहरुले विज्ञप्तिमा जनाएका छन् । भरतपुर महानगरपालिकाले जेठ ३० सम्म र खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाले २८ जेठमा विद्यालय बन्द हुने सूचना जारी गरी अभिभावकलाई जानकारी गराएको बताएका छन् ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले गर्मीले बालबालिका बिरामी पर्न थालेको जानकारी र अभिभावकबाट पनि गुनासो आएपछि विद्यालय बन्द गरेको बताए ।

विद्यालय बिदा दिन बालबालिकालाई घरबाहिर हिँडडुल गर्न नदिन, नदी पोखरीहरुमा पौडी खेल्न जान नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन पनि आग्रह गरिएको आचार्यले बताए । उनले भने, ‘बर्खे बिदामा कट्टा हुने गरी तीनदिन गर्मी बिदा दिइएको हो ।’ उनले अहिलेको बिदाबाट बालबालिकाको पढाइलाई असर पर्दैन । ‘तीनदिन अहिलेको बिदाको सदुपयोग हुन्छ, बर्खे बिदाको समय कटौती गरिन्छ’ आचार्यले भने, ‘अत्यधिक गर्मी भएकै कारण बिदा गर्नुपरेको हो ।’

यस्तै खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले नगर क्षेत्रका सबै विद्यालयमा २८ गते बिदा दिइएको बताए । उनले भने, ‘गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्ने देखिएकाले खैरहनी नगरपालिकाले सबै विद्यालयहरु एकदिन बन्द गरिएको हो ।’ उनका अनुसार एकदिन बिदा बर्खे बिदामा कट्टा गरिनेछ ।

रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकृत नारायणप्रसाद वाग्लेका अनुसार गर्मीले सिकाइ क्रियाकलाप र बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएका कारण एकदिन सबै किसिमका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको छ । मंगलबार चितवनको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको थियो ।

चितवनका ग्रामीण भेगका प्रायः संस्थागत तथा सामुदायिक विद्यालयहरुले टिनको टहरामुनि बालबालिकाहरु राखेर पठनपाठन गर्दै आएका छन् । कतिपय बजारका संस्थागत विद्यालयका भवनहरु टिनले छाएको पाइन्छ । जसका कारण अत्यधिक गर्मीमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आइरहेको छ ।



सम्बन्धित
Loading...