चुरे संरक्षण समितिले उद्देश्य अनुसार काम गर्न सकेनः राष्ट्रपति
रामकुमार श्रेष्ठ
नवलपुर । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति चुरे तराई मधेष संरक्षण विकास समिति जुन उद्देश्यले स्थापना गरिएको हो सो अनुसार काम गर्न नसकेको बताएका छन् ।
आज नवलपुरको कावासोतीमा एघारौं चुरे संरक्षण दिवसको अवसर पारेर कावासोतीको ज्योतिकुञ्ज सामुदायिक वनमा आयोजित वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले उद्देश्य अनुरूपका उपलब्धि हाँसिल भए नभएको समीक्षा गरी यसतर्फ सम्बन्धित सबै पक्ष गम्ंभीर हुन जरुरी रहेकोमा जोड दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणको नाममा खोला तथा नदीहरु नदीजन्य वस्तुले पुरिएर खोलाले बाटो फेर्ने अवस्था आउँदासम्म पनि नदीजन्य वस्तु निकाल्न नदिनु उपयुक्त नहुने बताए ।
उनले भने – अहिले चुरेको महत्वपूर्ण समस्या के पनि छ भने माथिबाट गिटी बलुवा बगेर ल्याउँछ खोला नदी बग्ने बाटो भरिन्छ । खोलाको बाटो पुरे पछि त्यो खोला गाउँ र उर्भर भूमि तिर हिड्छ अनि गाउँ र उर्भरभूमि मरुभूमिमा परिवर्तन हुन्छ ।
उनले खोलाबाट आवश्यकता हेरि नदीजन्य वस्तु निकासी गरेर खोलालाई आफ्नो बाटोमा हिड्न दिने र नदीजन्य वस्तु आवश्यकता परेको ठाउँमा प्रयोग गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट, संघीय वन तथा वातावरण मन्त्री एनेबहादुर शाही ठकुरी, वन तथा वातावरण राज्य मन्त्री रुपा विक, गण्डकी प्रदेश कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्री पद्मा जिसी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसालले चुरेसँग जोडिएका खोला तथा नदीहरुमा तट्बन्धनको उचित व्यवस्थापन नहुँदा खोलाले खोला छेउ बस्ने बासिन्दाहरु बाढीका कारण सुकुम्बासीमा परिणत हुनु पर्ने अवस्था भएकोले सरकारले त्यसतर्फ ध्यान दिनु पर्नेमा जोड दिए ।
उक्त क्षेत्रमा वन तथा पर्यावरण सुरक्षागण कावासोती हात्तीखोरले १० हजार विरुवा वृक्षारोपण गरेर ३ बर्षपछि सामुदायिक वनलाई हस्तान्तरण गर्ने जनाएको छ ।