दाउन्ने र दुम्किबासमा बाटो अवरुद्ध, नवलपुर आसपासका क्षेत्रमा भारी बर्षा
रामकुमार श्रेष्ठ –
नवलपुर । आज विहान परेको भारी बर्षाका कारण पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको दुम्किबास र दाउन्नेमा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्ने र दुम्किबासमा आज विहानैदेखि सडक अवरुद्ध भएको छ ।
नवलपुरका आसपासको क्षेत्रमा आज विहान ४ बजेतिर भारी बर्षा भएको थियो ।
दुम्किबासको विनयी खोलामा आएको बाढीले डाइभर्सन पुरिएको छ भने दाउन्नेको पूर्वी खण्डमा बाटो चिप्लो र हिलो भएर सवारी साधन उक्लन सकेको छैन जसले गर्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले बाटो खुलाउने प्रयास भईरहेको जनाए पनि आज दिन भर बाटो खुल्ने सम्भावना कम रहेको छ ।
यता जल तथा मौसम विज्ञान विभागले विहान सूचना जारी गरी नवलपुरको डण्डा, कावासोती आसपासको क्षेत्रमा भारी बर्षा भएको र अझै बर्षा हुने सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
त्यसैगरी बर्षाका कारण नवलपुरको कावासोतीको ठाउँठाउँमा विद्युत पोल ढल्न जाँदा आज विहानैदेखि कावासोती आसपासका क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण कावासोती शाखाले सूचना जारी गरी जनाएको छ ।