बुटवल नारायणगढ सडक ३ दिनदेखि लगातार अवरुद्ध, बुटवल नारायणगढ सडक प्रयोग नगर्न प्रहरीको अनुरोध




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड पछिल्लो ३ दिन यता लगातार बन्द भएको छ । २४ घण्टामा एकाध दुई घण्टा यातायात सञ्चालनमा आए पनि लगातार परेको भारी बर्षाले नवलपुरको दुम्किबास स्थित विनयी खोला र दाउन्नेको उकालोमा सडक अवरुद्ध भईरहेको छ ।

लगातार सडक अवरुद्ध भएपछि सडकमा पूर्वपश्चिम दुवैतर्फ सवारी साधनहरुको १०÷१० किलोमिटर भन्दा लामो लाइन लाग्न थालेको छ ।
नेपालकै लाइभ लाइन मानिने पूर्वपश्चिम राजमार्ग ३ दिनदेखि लगातार अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय नवलपुरले सूचना नै जारी गरी बुटवल नारायणगढ सडक खण्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।




पूर्वबाट पश्चिम जाने सवारी साधनलाई नारायणगढ मुग्लिन पोखरा स्याङजा हुँदै बुटवलको बाटो, पश्चिमबाट पूर्व आउने सवारी साधनलाई बुटवल स्याङजा पोखरा मुग्लिन हुँदै नारायणगढको बाटो प्रयो गर्न अनुरोध गरिएको छ । त्यसैगरी काठमाडौंबाट बुटवल आउने सवारी साधनलाई मुग्लिन पोखरा स्याङजा हुँदै बुटवल आउन र हल्का सवारी साधनलाई कालीगण्डकी कोरिडोरको बाटो त्यो पनि बुझेर मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।

मंगलबार विहानदेखि दुम्किबासको विनयी खोला र दाउन्नेको उकालोमा सडक अवरुद्ध भएको छ । उक्त अवरुद्ध सडक मंगलबार राति केही बेर र बुधबार साँझ केही बेर सञ्चालनमा आएपनि पुन अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।

अहिले दाउन्नेको विश्वकर्मा मन्दिर, घ्यू खोला लगायतका क्षेत्रमा बाटो चिप्लो र हिलो भएका कारण सवारी साधन उकालोमा उक्लन सकेको छैन भने दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाइरहेको कारण सवारी साधन अवरुद्ध भएको छ ।

दुम्किबासको विनयी खोलामा नयाँ पुल जेठ २३ गते निर्माण सम्पन्न भएको छ । उक्त पुल निर्माण सम्पन्न भएको २८ दिन पछि मात्र सञ्चालनमा ल्याउन मिल्ने भएकोले उक्त पुल असार १९, २० गतेतिर मात्र सञ्चालनमा आउने छ भने दाउन्नेका सडक यो बर्षामा ढलान तथा कालो पत्रे नहुने भएको छ । जसले गर्दा दाउन्नेको सडक यो बर्षामा सधैंको सास्ती हुने भएको छ ।



सम्बन्धित
Loading...