सडक सहज गराउन दाउन्नेमा ५०० ट्रक गिटी हालिदै, दुई दिन भित्र सडक सहज हुने दावी




नारायणघाट–बुटबल सडकको दाउन्ने खण्डले निक्कै दुःख दिन थालेपछि तत्कालका लागि गिट्टी बालुवा हालेर यात्रा सहज बनाउने प्रयास गरिने भएको छ । सडक विभागका आयोजना निर्देशक चुडाराज ढकाल, सडक आयोजना पूर्वी खण्डका प्रमुख अनुजा घिमिरे, पश्चिम खण्डका प्रमुख शशांक मिश्र, चिनियाँ ठेकेदार कम्पनी लगायतले दाउन्ने खण्डको अनुगमन गरेपछि यस्तो प्रयास गरिने भएको हो । तत्कालका लागि दुम्कीवासदेखि खुर्सानी खोलासम्मको भागमा कम्तिमा पाँच सय ट्रक गिट्टी बालुवा हालेर वर्षा भरीलाई यात्रा सहज बनाउन ढकालले निर्देशन दिनुभएको सडक आयोजना पूर्वी खण्डका प्रमुख मिश्रले जानकारी दिए ।

खाल्डाखुल्डी भएको र चिप्लिने ठाउँमा पाँच सय ट्रक अर्थात पाँच हजार घनमिटर गिट्टी बालुवा हालेर रोलरले पेलेर दुई दिन भित्रमा यो काम सम्पन्न गर्न निर्देशन दिएको मिश्रले बताए ।




अनुगमनमा गएको टोली नै लामो समयसम्म जाममा फसेको थियो । अनुगमनपछि पत्रकारसँग कुरा गर्दै निर्देशक ढकालले दाउन्नेको यात्रा निक्कै असहज भएकोले अत्यावस्यक काम नपरी यो मार्ग भएर यात्रा नगर्न सबैसित आग्रह गरे । समस्या समाधानका लागि आफूहरुले पनि प्रयास गरिरहेको उनको भनाई छ ।

उनले दशै अघिसम्म नारायणघाटदेखि बुटबलसम्मको सबै एक सय १४ किलोमिटर बाटो कालोपत्रे भएर सकिने दावी गर्नुभयो ।

‘‘वर्षा सकिएको एक ढेड महिनामा दाउन्नेमा ढलान, कालोपत्रे सबै काम सकिन्छ,’’ निर्देशक ढकालले भने – ‘‘दशै तिहारमा कसैले पनि यो बाटो असहज भयो भनेर गुनासो गर्नु पर्ने दिन आउँदैन, सबैले कालोपत्रे बाटो भएरै यात्रा गर्न सक्नुहुन्छ ।’’ वर्षा सुरु भइसकेकाले अव मर्मतबाहेक अन्य काम भने सम्भव नभएको उनको भनाइ छ । ‘‘पहिले कच्ची बाटो हुँदा गाडीहरु आउनै समय लाग्थ्यो, अहिले बुटबलबाट र नारायणघाटबाट एक सयको गतिमा गाडीहरु आउँछन् र सबै दाउन्नेमा रोकिने भएकाले जाम बढी भयो र व्यवस्थापनमा पनि कठिनाई भयो,’’ निर्देशक ढकालले भने – ‘‘असहजताका बाबजुत पनि हामीले चिनियाँ ठेकेदार कम्पनीलाई काम गराइरहेका छौं, यात्रुहरुले पाएको दुःख अव केही दिनमा हट्छ ।’’

सडक आयोजना पश्चिम खण्डका प्रमुख मिश्रका अनुसार भने अझै १० दिनसम्म बाटो सहज हुनेछैन । ‘‘अझै केही दिन समस्या हुन सक्छ तर अवको १० दिनपछि दाउन्नेमा समस्या भयो भनेर कसैले पनि गुनासो गर्नु पर्ने दिन आउँदैन,’’ मिश्रले भने ।

अव निर्माणको कामलाई घटाएर मर्मतको कामलाई बढी महत्व दिने आयोजनाले जनाएको छ । दाउन्नेको १४ किलोमिटरमध्ये दुईसय मिटरले मात्र समस्या थपेको निर्देशक ढकालले बताउनुभयो । दुम्किवासस्थित विनयी खोलाको पुल असार १६ गतेदेखि सञ्चालनमा आउने र बाँकी पुल वर्षापछि मात्र सञ्चालनमा आउने आयोजनाले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले अहिले सडक विभाग र चाइना स्टेट कम्पनीको टोलीले विहीबार साँझबाट दाउन्नेको सडक खण्डमा विस्तारको काम रोकेर सडक मर्ममको काममा लागेको छ ।



सम्बन्धित
Loading...