बुटवल नारायणगढ सडक केही दिनलाई बन्द, नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा पूर्ण बन्द




रामकुमार श्रेष्ठ –
पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको नवलपुरको दुम्किबास र दाउन्नेमा दैनिक सडक अवरुद्ध भएपछि केही दिनलाई सडक पूर्ण रुपमा बन्द गरिएको छ ।  सडक विभाग आयोजना निर्देशनालय (एडिबी) ले शनिबार सूचना नै जारी गरेर यस्तो गरेको हो ।

असार ०७ गते शनिबारदेखि अर्को सूचना प्रकाशित नगरुन्जेल सम्का लागि उक्त सडक खण्डमा ठूला र भारी मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सूचनामा ठूला र मालवाहक सवारी साधनलाई रोक लगाइएको भनिए पनि अहिले केही दिन साना तथा हल्का सवारी साधन पनि सञ्चालन गर्न सकिने अवस्था छैन ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले भने – दाउन्ने र दुम्किबास क्षेत्रमा केही दिन साना सवारी साधन पनि सञ्चालन गर्न सकिने अवस्था छैन । त्यसैगरी हाललाई साना र हल्का सवारी साधन पनि रोकिएको छ ।

उनका अनुसार दुम्किबासको विनयी खोला र दाउन्नेको बीच भागमा दुम्किबासदेखि सर्दी र सर्दीदेखि होङ्गसी सिमेन्ट गेटसम्म फसेका १४ सय बढी सवारी साधनलाई पास नगराएसम्म साना तथा हल्का सवारी साधन पनि सञ्चालन गर्न सकिने अवस्था छैन । शनिबार बाटो पूर्ण रुपमा बन्द गरे यहाँ फसेका ७ सय बढी सवारी साधनहरुलाई गन्तव्य तर्फ पठाइएको उनले बताए ।

सडक आयोजनाले दुम्किबासको विनयी खोलाको पुलको डाइभर्सन सडक बर्षाले लगातार बगाइरहेकोले सो स्थानमा नयाँ पुल सञ्चालनमा नआउन्जेल र दाउन्ने सडकको केही स्थानहरुमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम नसकुन्जेल सम्मलाई ठूला र मालबहाक सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

त्यसैगरी दाउन्ने दुम्किबास क्षेत्रफमा शनिबार साँझ ७ बजेदेखि विहान ५ बजेसम्म १० घण्टा हल्का सवारी साधन पनि सञ्चालनमा रोक लगाइएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी) ले सूचना जारी गरेको छ ।

दाउन्ने सडक खण्डको पूर्वी खण्डको ९ किलोमिटर सडक बर्षाले हिजो र चिप्लो हुँदा लगातार ५ दिनदेखि यातायात सञ्चालनमा कठिनाई भएको छ । जसका लागि विनयी त्रिवेणी गाउँपालिकाको गिटी सहयोगमा ५ सय टिप गिटी यहाँ बिछ्याउन शुरु गरिएको छ ।

यता दुम्किबासको विनयी खोलामा डाइभर्सन पटक पटक बगाएपछि डाइभर्सन नबनाइने भएको छ । उक्त क्षेत्रमा रहेको डाइभर्सन भत्काइएको आयोजनाले जनाएको छ ।
दुम्किबास सर्दी र सर्दी होङ्गसी सिमेन्ट गेटसम्म फसेका सवारी साधनलाई आइतबार दिनभर लगाएर गन्तव्य तर्फ पठाइएपछि बल्न हल्का तथा साना सवारी साधन र यात्रुवाहक बसलाई सञ्चालनमा ल्याइने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा हिलोका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।

विहीबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा सडक आयोजना, चाइना स्टेट कम्पनी र नवलपुरका सुरक्षा निकायका प्रमुखहरुबीच भएको छलफलमा दुम्किबासको पुल असार १४ बाट सञ्चालनमा ल्याउने मोटामोटी सहमति भएको भए पनि अहिले पछि आएर चाइना स्टेट कम्पनी पुल निर्माण सम्पन्न भएको २८ दिन नपुगेसम्म पुल सञ्चालनमा ल्याउनु खतरा हुने भन्दै सञ्चालनमा नल्याउने पक्षमा उनीहरु देखिएको प्रहरी उपरीक्षक ढकालले बताए ।

दाउन्ने सडकमा ग्राभेल बिछ्याएर ठूला तथा मालबहाक सवारी साधन चल्न सक्ने गराउन कम्तिमा १० दिन लाग्ने जनाइएको छ भने दुम्किबासको पुल पनि असार २० अगाडि सञ्चालनमा आउन सक्ने छनक देखिएको छैन । दुम्किबासको पुल पूर्ण रुपमा सञ्चालनमा नल्याएसम्म दुम्किबास सर्दी हुँदै होङसी गेटबाट सञ्चालन गरिने भित्री बाटोमा साना तथा हल्का सवारी साधन मात्रै चल्ने अवस्था रहेको प्रहरी उपरीक्षक ढकालले बताए ।



सम्बन्धित
Loading...