चितवन सवारी दुर्घटना अपडेट : मृतकमध्ये ६ जनाको पहिचान खुल्यो
एकै परिवारका तीनसहित हेटौँडाका पाँचजनाको मृत्यु
चितवनमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सातमध्ये ६ जनाको पहिचान खुलेको छ । घटनामा २४ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये पाँच जना मकवानपुरको हेटौँडाका रहेका छन् । जसमध्ये एकैघरका तीनजना छन् ।
चितवनका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१७ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, हेटौँडा–५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी, उनका छोरा ३५ वर्षीय सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल रहेका छन् । यस्तै, माइक्रोबस चालक हेटौँडा–१० का राजु थिङको पनि मृत्यु भएको छ ।
दुर्घटनमा परी अर्का एकजना रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सीता कुमारीको मृत्यु भएको छ । मृतकमध्येकै एकजना महिलाको पहिचान खुल्न बाँकी रहेको प्रवक्ता खनालले जानकारी दिए ।
उनका अनुसार चितवनको राप्ती नगरपालिका–४ डडुवास्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत आज बिहान यात्रु बस र इभी माइक्रो बस आपसमा ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमा पाँच र उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । धनगढीबाट काँकडभिट्टातर्फ जान गुडेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको इभी माइक्रो बस ठक्कर खाँदा दुर्घटना भएको प्रवक्ता खनालले बताए ।