कावासोती नगरपालिकाको आर्थिक बर्ष २०८२/०८३ को बजेट १ अर्ब ६१ लाख ४४ हजार
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोती नगरपालिकाको १७ औं नगर अधिवेशनले आगामी आर्थिक बर्षका लागि१ अर्ब ६१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ ।
कावासोती नगरपालिकाको नगर सभाको मंगलबार भएको १७ औं अधिवेशनमा नगर उपप्रमुख फूलकुमारी थनेतद्वारा प्रस्तुत १ अर्ब ६१ लाख ४४ हजार बराबरको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।
नगरउपप्रमुख थनेतद्वारा प्रस्तुत बजेटमा आम्दानी तर्फ आन्तरिक स्रोतबाट ६ करोड ५० लाख, वित्तीय समानुकरण अनुदान नेपाल सरकारबाट १७ करोड २ लाख, राजश्व बाँडफाँड संघीय सरकारबाट १४ करोड ८३ लाख, सशर्त अनुदान संघीय सरकारबाट ४३ करोड ६६ लाख, विशेष अनुदान नेपाल सरकारबाट ४ करोड १८ लाख, समपुरक अनुदान नेपाल सरकारबाट ६० लाख हुने उल्लेख गरिएको छ ।
त्यसैगरी वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट २ करोड २८ लाख, सवारी साधन कर प्रदेश सरकारबाट २ करोड २८ लाख, विशेष अनुदान प्रदेश सरकारबाट ४० लाख, समपुरक अनुदान प्रदेश सरकारबाट २८ लाख, घरजग्गा रजिष्ट्रेशनबाट ४ करोड २० लाख, विज्ञापन करबाट ५ लाख ५१ हजार, नदीजन्य पदार्थ विक्री राजश्व बाँडफाँड स्थानीयबाट ३ करोड ३० लाख र लागत सहभागिता १ करोड गरी कुल १ अर्ब ६१ लाख ४४ हजार आय प्राप्त हुने अनुमान गरिएको नगर उपप्रमुख फूलकुमारी थनेतले बताइन् ।
त्यसैगरी व्ययतर्फ प्रशासनिक खर्च २१ करोड ११ लाख, मर्मत सम्भार कोषमा १ करोड, समपुरक कोषमा २ करोड ३५ लाख, विपद् व्यवस्थापन कोषमा १ करोड, नगर स्तरीय योजना तथा कार्यक्रममा १२ करोड १० लाख, वडा स्तरीय योजना तथा कार्यक्रममा १२ करोड ९२ लाख खर्च हुने अनुमान गरिएको छ ।
त्यसैगरी नगरउपप्रमुखद्वारा प्रस्तुत बजेटमा नगर स्तरीय पूर्वाधार विकासका लागि ६ करोड २५ लाख, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, पोषण लगायत सामाजिक विकासतर्फ ४ करोड, कृषि, पशुपंक्षि, सहकारी, पर्यटन, श्रम तथा रोजगार लगायत आर्थिक विकासतर्फ १ करोड २५ लाख, सुशासन तथा संस्थागत विकासतर्फ २० लाख विनियोजन गरिएको जनाइएको छ ।
त्यसैगरी विपद जोखिम न्यूनीकरणका लागि केरुङ्गे खोला –कावासोती १, ३, ४ र ५ मा तटबन्धनका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको उल्लेख छ । त्यसैगरी आमा स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम लगायतलाई ७९ लाख, महिला, दलित, जनजाति, आदिवासी, अपाङ्गता लगायतका क्षेत्रमा २२ लाख ७० हजार बजेट विनियोजन गरिएको छ ।