के छ कावासोती नगरपालिकाको निती तथा कार्यक्रममा




रामकुमार श्रेष्ठ –
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले कावासोती नगरपालिकालाई ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटकीय शहरः पूर्वाधारयुक्त औद्योगिक समुन्नत कावासोती नगर बनाइने नीति तथा कार्यक्रम अगाडि सारेको छ ।

कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले कावासोती नगरपालिकाको नगर सभाको १७ औं नगर अधिवेशनमा मंगलबार यस्तो निती तथा कार्यक्रम अगाडि सारेका हुन् ।



नगरप्रमुख विष्णु भुसालद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा नगर यातायात गुरुयोजना कार्यान्वयनमा ल्याएको उल्लेख गरिएको छ । त्यसका लागि प्राथमिकीकरण गरिएको सडकहरुको विस्तार एवम् स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइएको उल्लेख गरिएको छ । कावासोती नगरपालिकाले करिब ५ बर्ष अगाडि नगर चक्रपथ निर्माण गर्ने महत्वकांक्षी योजना अगाडि सारेको भए पनि अझै पुरा गर्न सकेको छैन ।

त्यसैगरी सबै खाले घर टहरा, सरकारी कार्यालय भवन निर्माण गर्दा अनिवार्य नक्सा पास गर्नु पर्ने नीति लिएको छ । त्यसैगरी उर्जामैत्री भवन निर्माणलाई प्रोत्साहन गरिने, अब बन्ने कावासोती ६, १३ र १७ नम्बरको वडा कार्यालय भवन उर्जा तथा वातावरण मैत्री निर्माण गरिने उल्लेख गरिएको छ ।

त्यस्तै कावासोती नगरपालिका भित्र पर्ने केरुङ्गे खोलाको किनारमा वडा नं. १ देखि १५ सम्मको क्षेत्रफालई तटबन्धन गरी खोलाको किनारमा हरियाली क्षेत्र निर्माण गर्ने, साइकल लेन बनाउने, फुटपाथ सहितको कोरिडोर मार्ग निर्माण गर्ने योजना नगर प्रमुख विष्णु भुसालले अगाडि सारेका छन् ।

त्यसैगरी कावासोती नगरपालिकाको फोहोर मैलो व्यवस्थापनलाई संघप्रदेशसँगको सहककार्यमा नयाँ प्रक्रियाबाट अगाडि बढाइन व्यवस्थित भौतिक संरचना निर्माण गरिने उल्लेख छ । नगर सभाको अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा फोहोरलाई पुन प्रयोग र प्रशोधन गर्न स्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

त्यसैगरी कावासोती ४ बाट भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लालपूर्जा वितरण शुरु गरेको जानकारी दिंदै नगरप्रमुख भुसालले बाँकी रहेका वडाहरुमा समेत क्रमश लालपूर्जा वितरण गर्दै जाने उल्लेख गरेका छन् ।

त्यस्तै मध्यवर्ती क्षेत्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि नेपाल सरकार, मध्यवर्ती तथा निकुञ्ज कार्यालय, प्रकृति संरक्षण कोषसँग सहकार्य गरी उक्त क्षेत्रमा जग्गा नापजाँच प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ ।

नगरप्रमुख भुसालद्वारा प्रस्तुत निति तथा कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा २६ बुदे नीति तथा कार्यक्रम समावेश गरिए पनि सामुदायिक स्कुलको निशुल्क शिक्षालाई प्रथामिकतामा राख्न सकेको छैन । तथापि कक्षा १० सम्मका विद्यार्थीहरुलाई नेपाली र अंग्रेजी माध्यममका पाठ्यपुस्तक निशुल्क रुपमा उपलब्ध गराउने उल्लेख गरिएको छ ।



सम्बन्धित
Loading...