प्रेस काउन्सिलको भूमिका निश्पक्ष र स्वतन्त्र नभएको नवलपुरका पत्रकारहरुको आरोप
रामकुमार श्रेष्ठ –
नवलपुर ।
प्रेस काउन्सिल नेपाल निश्पक्ष ढंगले चल्न नसकेको नवलपुरका पत्रकारहरुले आरोप लगाएका छन् । आज नवलपुरको कावासोतीमा नेपाल पत्रकार महासंघको कार्यालयमा भएको अन्तरक्रियामा सहभागी पत्रकारहरुले प्रेस काउन्सिलको भूमिका प्रति नै प्रश्न गरेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षता र प्रेस काउन्सिल नेपालका केन्द्रिय सदस्य नकुल आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।
नवलपुरका पत्रकारहरुले प्रेस काउन्सिलको भूमिका निश्पक्ष र पत्रकारहरुको अभिभावकत्व बन्ने खालको नभएको आरोप लगाएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ नवलपुरका भवनमा प्रेस काउन्सिलको भूमिकाको सन्दर्भमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका पूर्व उपाध्यक्ष एवम् प्रेस सेन्टरका केन्द्रिय सचिव दीपक भट्टराईले प्रेस काउन्सिलले पत्रिका वर्गीकरण गर्ने देखि पत्रकारहरुलाई सोधिने स्पष्टिकरणमा समेत विभेद गर्ने गरेको गुनासो गरे । उनले भने – ‘आफ्नालाई काखा र अरुलाई पाखा गर्ने काम राकिनु पर्यो ।’
त्यसैगरी कार्यक्रममा पत्रकार रामकुमार श्रेष्ठ, पत्रकार राजु सुवेदी कल्पितले आफूहरुले सही सत्य समाचार लेख्दा पनि प्रेस काउन्सिलले समाचारको सत्यतथ्य नबुझि समाचार हटाउन लगाएको बताएका थिए । दुम्किबासमा डेण्टलमा दाँत निकाल्ने क्रम विरामीको मृत्यु भएको विषयलाई लिएर प्रकाशित भिडियो समाचार हटाउन प्रेस काउन्सिलले पत्र नै पठाएर निर्देशन गरेको थियो ।
त्यसैगरी नवलपुरका अग्रज पत्रकार घनश्याम बगालेले पत्रकार र सञ्चार माध्यममाथि वाह्य हस्तक्षेप तथा आक्रमण हुने गरेको घटना नवलपुरमा पनि प्रशस्त रहेको बताउँदै पछिल्लो समय अदालतबाट समेत हुने गरेको हस्तक्षेप रोक्न प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघ भूमिका खेल्नु पर्नेमा जोड दिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ नवलपुरका सहसचिव ज्ञानु पंगेनीले पछिल्लो समय क्यामरा बोग्दै पत्रकार हुँ भन्दै हिड्ने गैह्र पत्रकारहरुलाई कानुनी दायरामा ल्याउनु पर्नेमा जोड दिइन् । उनले भनिन् – एउटा फेसबुक पेज वा युट्युब खोल्यो अनि क्यामरा तेर्सायो मान्छे धम्काउँदै हिड्यो । जस्तोलाई वास्तविक पत्रकारलाई पनि पत्रकारहरु हुँ भनेर हिड्न गाह्रो भइसक्यो ।
कार्यक्रममा प्रेस काउन्सिलका केन्द्रिय सदस्य नकुल आचार्यले प्रेस काउन्सिल पत्रकारहरुकै हकहितको पक्षमा काम गर्ने संस्था भएको बताउँदै काउन्सिलको पछिल्लो काम कारवाही र काउसिन्लले सुधार गर्नु पर्ने भूमिकाको विषयमा छलफल गर्न काउन्सिलको टोलीहरु जिल्ला जिल्ला पुगेको बताए ।
उनले समाचार हटाउने भन्ने भन्दा पनि समाचार गलत भए खण्डन गर्ने वा माफी माग्ने वा सच्याउने हुन सक्ने तर समाचार नै हटाउनु पर्छ भन्ने पक्षमा आफू नरहेको समेत बताए ।