नवलपुरमा असार १५ः कृषि उत्पादनमा लागत घटाउन र उत्पादन बढाउन जोड
रामकमार श्रेष्ठ –
नवलपुर । असार १५ अर्थात २२ औं राष्ट्रिय धान दिवसको अवसरमा नवलपुरको कार्यक्रममा कृषि उत्पादनमा लागत घटाउनु पर्ने र उत्पादन बढाउनु पर्नेमा जोड दिएका छन् ।
कृषि उत्पादनमा कृषकहरुको लागत बढिरहेको तर बजार मूल्य नपाइरहेका समस्या यहाँका किसानहरुको छ ।
असार १५ दिन नवलपुरमा विविध कार्यक्रममा गरिएको थियो । नवलपुरको देवचुली–१७ कुजौलिमा कृषि ज्ञान केन्द्र नवलपुर र देवचुली नगरपालिकाको कृषि शाखाको आयोजनामा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ कार्यक्रम गरिएको छ ।
कार्यक्रममा महिलाहरु बीचको माछा समात्ने प्रतियोगिता पनि गरिएको थियो । कार्यक्रम सृजना तरकारी उत्पादन कृषक समूहको सहकार्यमा भएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले नवलपुर जिल्ला गण्डकी प्रदेशकै सबैभन्दा बढी कृषिमा उर्वर भूमि रहेकोले प्रदेश सरकारले नवलपुर जिल्लालाई लक्षित गरी कृषिमा आधारित कार्यक्रमहरु ल्याएको बताए ।
त्यसैगरी कृषि मन्त्री पदमा जिसी श्रेष्ठले कृषकलाई प्रविधि मैत्री बनाउँदै थोरै लगानीमा धेरै उत्पादन गर्न सक्ने गरी कृषिमा आधुनिकीकरण गर्नु पर्नेमा जोड दिए ।
त्यसैगरी उनले कृषिबाट देशलाई समृद्धि गराउन सक्ने भएकोले कृषी उपजको मूल्य र बजार व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित भएको बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा, देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमा बोल्दै देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानले देवचुली नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने सहित योजना बनाएर अगाडि बढेको जानकारी दिए ।
कार्यक्रममा देवचुली नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, कृषक, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा मध्यबिन्दु नगरपालिका–२ कोल्हुवामा रोपाइँ महोत्सव २०८२ विशेष उत्सव कार्यक्रम गरिएको छ ।
नगरप्रमुख भिमला अधिकारी, उपप्रमुख पूर्णकला चौधरीसहितका जनप्रतिनिधि, कर्मचारी, किसान, स्थानीय बासिन्दा लगायतको सहभागितामा धान दिवस धान रोपेर मनाइएको हो ।
“माटो सँगै मन मिलाऔँ, धान रोपेर हर्ष छराऔँ“ भन्ने नाराका साथ आयोजना गरिएको हो ।
नगरप्रमुख अधिकारीले कार्यक्रममा बोल्दै कृषि आत्मनिर्भरता र कृषकको सम्मान स्थानीय सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो । उपप्रमुख चौधरीले भने परम्परागत ज्ञान र प्रविधिको संयोजनमार्फत उत्पादन वृद्धि गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
स्थानीय संस्कृति, परम्परा र कृषिप्रतिको सम्मान व्यक्त गर्दै गरिएको यो महोत्सवले गाउँका खेतबारीमा हर्ष र एकताको रंग थपेको सहभागीहरूको अनुभव थियो ।
त्यसैगरी आज नै कावासोती ३ मा रहेको पुष्पाञ्जली महिला कृषक समूहको आयोजनामा असार १५ धान दिवस धान रोपेर मनाइएको छ ।
कावासोती ३ का वडाध्यक्ष डोरमान गिरीले धान रोपेर धान दिवस कार्यक्रमको शुरुवात गरेका थिए ।