विनयी खोलामा डाइभर्सनबाट यातायात सञ्चालन




रामकुमार श्रेष्ठ –
पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको विनयी खोलामा आज विहानबाट डाइभर्सनबाट यातायात सञ्चालन गरिएको छ ।
२ दिन अघि खोलामा आएको बाढीले बगाएको डाइभर्सन बुधबार विहान मर्मत गरी विहान ६ बजेबाट पुन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मंगलबार कावासोती, डण्डा, चोरमारा, अरुणखोला, प्रगतिनगर, गैडाकोट लगायतका स्थानमा रोकिएर राखिएका ट्रकहरुलाई बुधबार विहानैबाट गन्तव्य तर्फ पठाइएको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ ।




असार १५ मा भत्किएको डाइभर्सन ३ दिन पछि पुन निर्माण गरिएको हो । करिब ६ महिना अगाडि दुम्किबासको विनयी खोलामा पुराना पुल भाँचिए पछि यहाँ यो बर्खामा यात्रा निक्कै सकस पूर्ण भएको छ । विनी खोलामा बनेको नयाँ पुल असार २१ गते साँझबाट सञ्चालनमा आउने भनिएको छ । नयाँ पुलबाट यातायात सञ्चालनमा आए यहाँको यात्रा केही सहज हुने देखिन्छ ।

दाउन्नेको १४ किलोमिटर सडक खण्ड मध्य पूर्वी खण्डमा अझै यात्रा सकसपूर्ण रहेको छ । यो बर्खामा दाउन्नेको बाटो हिलो र चिप्लो भएर यात्रा कष्टकर भएको छ । दाउन्नेको बाटो हिलो र हिप्लो हुँदा १४ किलोमिटर सडक खण्ड पार गर्न ४ देखि ८ घण्टासम्म लाग्ने गरेको छ भने हल्का पानी पर्ना साथ बाटो चिप्लो भएर उकालोमा सवारी साधन चढ्नै नसक्ने अवस्था हुने गरेको छ ।

दाउन्नेमा ५०० टिप गिटी हाल्ने र थिच्ने काम भईरहे पनि पानी पर्नासाथ काम रोकिने गरेको छ । सडक आयोजनाले अबको २ महिना दाउन्ने केन्द्रित भएर काम गर्न ठेकेदार पक्षलाई निर्देशन गरेको छ । तथापि दाउन्नेमा सडक विस्तार तथा मर्मतको कामले गति लिन सकेको छैन ।



सम्बन्धित
Loading...