लगातार पानी परेपछि दाउन्नेको सडक अवरुद्ध, पाल्पामा राति सवारी चलाउन रोक




लगातार पानी परेपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा सवारी साधन अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्नेको ६४ मोडमा उकालोमा गाडी उक्लन नसकेपछि बाटो अवरुद्ध भएको हो ।

पानीले बाटो हिलो र चिप्लो भएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्व आउने अर्थात बर्दघाटबाट पूर्व आउने सवारी साधन पास भएपनि दुम्किबासबाट बर्दघाट जाने सवारी साधन पास नभएका कारण अहिले दुवैतर्फ गाडीहरु होल्डमा राखिएको छ ।

उता पाल्पा जिल्लामा आगामी दिनमा सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।

गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीद्वारा जारी विज्ञप्तिमा जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको जनाउँदै जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च भएकाले यस्तो निर्णय गरिएको उल्लेख छ ।

विज्ञप्तिमा रातको समयमा माथिबाट ढुंगा, माटो खस्ने सम्भावना भएकाले यात्रु, मालवाहक, निजी र सार्वजनिक सवारी साधनलाई रात्रीकालीन समयमा सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

रात्रीकालीन आवागमनमा रोक लगाइएका प्रमुख सडक खण्डहरू सिद्धबाबा – राम्दी सडकखण्ड, तानसेन – रिडी – तम्घास सडक, हार्थोक, छहरा, तिनगिरे, आर्यभञ्ज्याङ, ताहु – रामपुर सडकखण्ड रहेको छ । समितिले सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई सूचनाको पूर्ण पालना गर्न र विपद् न्यूनीकरणमा सहकार्य गर्न आग्रह गरेको छ । स्थानीय प्रशासनले आवश्यक निगरानी र व्यवस्थापनका लागि तयारी अवस्थामा रहने जनाएको छ ।



सम्बन्धित
Loading...