नवलपुरमा बलेरो र स्कार्पियो ठक्कर खाँदा ९ जना घाइते




रामकुमार श्रेष्ठ –

नवलपुर । नवलपुरको वियनी त्रिवेणी गाउँपालिका १ गुम्बा नजिक पूर्वपश्चिम राजमार्गमा स्कार्पिया र बलेरो एक आपसमा ठक्कर खाँदा ९ जना घाइते भएका छन् ।




घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने ७ जना मध्यम र १ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गमा दुम्किबासबाट अरुणखोलातर्फ जाँदै गरेको लु प्र.०१–००१ च ०९४८ नम्बरको स्कार्पियो र दलदलेबाट अरूणखोलातर्फ आउदै गरेको बा.प्र.०३–००१ च १४७४ नम्बरको पिकअप बलेरो एक आपसमा ठक्कर खाँदा ९ जना घाइते भएका हुन् ।

घाइते मध्ये गम्भीर घाइते विनयी त्रिवेणी गाउँपालिका ५ निवासी ३६ बर्षीया दानुमाया आले मगरलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ । उनको टाउकोमा चोट लागेको छ । घाइते मध्य बाँकी ८ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।

दुर्घटनामा परी स्कार्पियो चालक विनयी त्रिवेणी गाउँपालिका २ निवासी ३१ बर्षीय रेशम बहादुर सारु, विनयी त्रिवेणी गाउँपालिका ५ निवासी १४ बर्षीय किरण फाल मगर, ४८ बर्षीय विष्णु श्रेष्ठ, ८४ बर्षीय रुपामाया श्रेष्ठ, ५७ बर्षीया यनिसरा लामिछाने घाइते भएका छन् ।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका ४ निवासी ५५ बर्षीया सीता श्रेष्ठ, ५२ बर्षीय कुलबहादुर कुमाल र वियनी त्रिवेणी गाउँपालिका ५ निवासी ३६ बर्षीय हरिबहादुर लामिछाने घाइते भएका छन् । स्कारपियोमा ८ जना र बलेरोमा १ जना मात्र सवार रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी नवलपुरको देवचुली नगरपालिका ३ केउरानी चोकमा ना २ त ५३९ नम्बरको ट्याक्टर र ना ५५ प ८२८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक देवचुली नगरपालिका १३ निवासी ३९ बर्षीय जगबहादुर बोटे, मोटरसाइकल पछाडि ३७ बर्षीय दिपक पौडेल र मोटरसाइकलमै सवार ४६ बर्षीय गोबिन्दा बोटे घाइते भएका छन् ।

घाईतेहरुको देवचुली नगर अस्पताल दुम्कौलीमा उपचार भईरहेको र ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...