अरुणखोला नेवाः गुठीलाई १ करोड ३० लाखको सामुदायिक सभाहल हस्तान्तरण
नवलपुर ।
नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोलामा निर्माण गरिएको सामुदायिक सभाहलको उद्घाटन तथा हस्तान्तरण गरिएको छ। करिब एक करोड ३० लाखको लागतमा निर्माण सम्पन्न भएको यो सभाहलको समुद्घाटन नगर प्रमुख भीमलाल अधिकारीले गर्नुभयो।
सभाहलको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा रहनु भएका नगर प्रमुख अधिकारीले सामुदायिक प्रयोगका लागि निर्माण गरिएको यो सभाहलले स्थानीय सम्पदाको संरक्षणमा र समुदायबीचको एकता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
नगरप्रमुख अधिकारीले नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई लगायतका क्षेत्रमा विशेष अभियान चालेको कार्यक्रममा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा उपप्रमुख पूर्णकला चौधरीले सभाहलले महिलाहरू, युवाहरू तथा नागरिक समाजका विभिन्न समूहहरूलाई संगठित गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले स्थानीय समुदायमा सहभागितामूलक कार्यक्रम सञ्चालन गर्न थप सहजता आउने विश्वास व्यक्त गर्नुभयो।
गण्डकी प्रदेशका पूर्व सांसद जनकलाल श्रेष्ठले सामुदायिक संरचनाहरूलाई स्थानीय विकासको मेरुदण्डको रुपमा परिभाषित गर्दै यस्तो पूर्वाधारको संरक्षण, उपयोग र सदुपयोगमा सबैको समान जिम्मेवारी रहने धारणा व्यक्त गर्नुभयो।
नेवाः देय दबूका केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राज भण्डारीले सभाहलले संस्कृति, भाषा, धर्म तथा परम्पराको संरक्षण र प्रवद्र्धनमा योगदान गर्ने मञ्चको रुपमा काम गर्ने अपेक्षा राख्नुभयो।
त्यसैगरी, नेवाः देय दबूका केन्द्रिय उपाध्यक्ष हरिकुमार श्रेष्ठले नेवारी कला, संस्कृति र समुदायको पहिचानलाई प्रवद्र्धन गर्न सामुदायिक सभाहलजस्ता संरचना आवश्यक रहेको बताउँदै सभाहलको सदुपयोगका लागि समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
उक्त सभाहल उद्घाटनसँगै अरुणखोला नेवाः गुठीलाई जिम्मा हस्तान्तरण गरिएको छ। समितिका प्रतिनिधिहरूले सभाहलको संरक्षण, नियमित प्रयोग तथा समुदायको हितमा प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
उपस्थित सहभागीहरूले सभाहलको निर्माणले स्थानीय पूर्वाधार विकाससँगै संस्कृति संरक्षण, सामाजिक एकता र सहकार्यको सन्देश दिएको बताएका थिए। कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था, समुदाय प्रतिनिधि, बुद्धिजीवी, महिला तथा युवाको उल्लेखनीय उपस्थिति रहेको थियो।
यो सभाहलले अबदेखि अरुणखोला क्षेत्रमा सामाजिक रूपान्तरण र सांस्कृतिक उत्थानका लागि एक साझा मञ्चको रूपमा योगदान पु¥याउने विश्वास गरिएको छ।
कार्यक्रममा कावासोती ३ को देवचुली भिमसेन नेवा समाजको लाखे नाँच पनि प्रस्तुत गरिएको थियो ।