हावाहुरीको कारण नवलपुरको ठाउँठाउँमा क्षति, घर भत्कँदा ३ जना घाइते
नवलपुर । गएराति आएको हावाहुरीका कारण नवलपुरको ठाउँठाउँमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती ६ कोखेटोलामा खिमानन्द न्यौपानेको निर्माणाधिन २ तले पक्की घरको माथिल्लो तलाको गारो हावाहुरीले भत्काउँदा ३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कोखेटोला निवासी ३५ बर्षीया खगिसरा भुषाल, १५ बर्षीय नविन भुषाल र १३ बर्षीय रुस्मा भुषाल घाइते भएका हुन् ।
उनीहरु मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार पश्चात डिस्चार्ज भएको नवलपुर प्रहरीले जनाएको छ ।
गारो हावाहुरीको कारण भत्किएर उक्त घरको दक्षिण दिशामा सटेको गंगाधर भुषालको टिनले छाएको कच्चि घरमा गई ढल्न जाँदा घरको भान्सा, सुत्ने कोठामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपुर जिल्ला सदरमुकाम कावासोती , मध्यविन्दु सहित यस आसपासको क्षेत्रमा हिजोसाँझदेखि विद्युत्त सेवा अवरुद्ध हुन पुगेको थियो ।
एक्कासि आएको ठूलो हावाहुरिका कारण पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने लोकाहा र कावासोती बजारको विच भागमा पर्ने जङ्गल क्षेत्रमा ५,६ वटा पोल ढलेको साथै रुखहरु ढलेर तारमा क्षति पुर्याएको नेपाल विद्युत्त प्राधिकरण केन्द्र कावासोती शाखाले जानकारी दिएको छ ।
विभिन्न स्थानमा पोलहरु ढलेको, केहि ठाउँमा रुखहरु ढलेर तारमाथि पर्दा गएराति देखि नै रातभर जसो तार पोल मिलाउने र ढलेका रुख पन्छाउने कार्य भैरहेको नेपाल विद्युत्त प्राधिकरण कार्यालय कावासोतीका ईन्जिनियर दिनेश श्रेष्ठले जानकारी दिनुभएको छ ।
यता जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक यादव ढकालले जिल्लामा गएरातिको हावाहुरिबाट क्षतिको यकिन विवरणहरु संकलन भईरहेको जानकारी दिए ।