हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, ३ घाइते
नवलपुर । मोटरसाइकलले पैदल यात्रीलाई ठक्करदिंदा गएराति नवलपुरमा एक जनाको मृत्यु भएको छ भने अर्का ३ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
हुप्सेकोट गाउँपालिका–३ भुपती चोकस्थित भित्रि सडक खण्डमा गिरुवारीबाट बसन्तपुरतर्फ जाँदै गरेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेका सोही ठाउँका ३५ वर्षीया शोभा सिग्देललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा चोट लागेर गम्भीर भएकी सिग्देलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
दुर्घटनामा सोही ठाउँका ३५ वर्षीया इन्दिरा कोइराला, मोटरसाइकल चालक हुप्सेकोट–२ का निशान सिंह ठकुरी र मोटरसाइकल पछाडि सवारी हुप्सेकोट २ कोलिया निवासी ३२ बर्षीय सोम बहादुर सोमै घाइते भएको नेपालले जानकारी दिए । कोइरालाको मध्यविन्दु प्रादेशीक अस्पतालमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज रेफर गरिएको र गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी दुर्घटनामा मोटरसाइकल पछाडि सवारी हुप्सेकोट २ कोलिया निवासी ३२ बर्षीय सोम बहादुर सोमै पनि घाइते भएका छन् । उनको चिउडो, निधार र दाहिने घुडामा चोट लागेको प्रहरीले जनाएको छ । सोमैको स्थानीय मेडिकलमा उपचार पश्चाता डिस्चार्ज भएका छन् ।
चालक ठकुरीलाई भने स्थानीय मेडिकलमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । ठकुरीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको र आवश्यक कागजात पनि नभएको पाइएको नेपालले बताए ।