बुटवल नारायणगढ सडकः ७० प्रतिशत भौतिक प्रगति
आर्थिक भार नथपिने गरी एक बर्ष म्याद थप गर्ने तयारी
रामकुमार श्रेष्ठ –
नवलपरासी । बुटवल नारायणगढ सडक खण्ड विस्तारको म्याद सकिदै छ । साउन ८ गते म्याद सकिदै गर्दा अब करिब १ बर्ष म्याद थप गर्ने तयारी छ । यो बीचमा पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डको भौतिक प्रगति अहिलेसम्म जम्मा ७० प्रतिशतको हाराहारीमा मात्र पुगेको छ ।
दाउन्ने सडक खण्ड बाहेक अनेत्र यातायात सञ्चालनमा पहिलेको तुलनामा धेरै सहज भएको छ तथापि ठाउँठाउँमा अलपत्र पूर्वाधारहरु अझै देख्न सकिन्छ । पुल नजिकका खाल्टाखुल्टीहरु कतिपय ठाउँमा अझै बाँकी छन् । भने मुख्य समस्या अहिले दाउन्ने सडक खण्डमा रहेको छ । दाउन्ने सडक खण्डको पश्चिम खण्डमा यात्रा केही सहज भए पनि पूर्वी खण्ड भने निक्कै कठिनाइ हुने गरेको छ ।
पछिल्लो ६ महिना केही दु्रत गतिमा काम देखाएको ठेकेदार कम्पनी चाइना स्टेट कम्पनीले अहिले दाउन्नेमा केन्द्रित रहेर काम गरिरहेको छ । दशै अगाडि दाउन्नेको बाटो पनि अनेत्र जतिकै सहज गराउने गरी काम गरेको हो ।
दशैं अगाडि दाउन्नेमा कम्तिमा १ तर्फी कालो पत्रे सक्ने योजना निर्माण कम्पनीको रहेको छ । दाउन्नेको १४ किलोमिटर सडक खण्ड मध्ये पश्चिम बर्दघाटतर्फ ३ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ ।
दाउन्ने सडक अहिले धुलो र हिलोले कन्तविजोग हुने गरेको छ । यसको मार यात्रुका साथै स्थानीय बासिन्दा र दाउन्नेका व्यापारीहरुमा समेत गरेको छ ।
नारायणगढ बुटवल सडक आयोजना पूर्व खण्डका प्रमुख र्ईश्वर बहादुर रिजालका अनुसार अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ । त्यसैगरी दाउन्ने खण्डमा सडक निर्माणको काम तिव्र गतिमा बढेको उनले बताए । साउन ८ गते म्याद सकिंदै गर्दा करिब १ बर्ष म्याद थप गरेर काम सक्नु पर्नेमा नारायणगढ बुटवल सडक आयोजना पूर्व खण्डका प्रमुख र्ईश्वर बहादुर रिजालले जोड दिए ।
तेस्रो पटक थपिएको समयावधिमा पनि काम नसकिएपछि सरकारले चौथोपटक म्याद थप्ने तयारी गरेको छ ।
सुरु ठेक्का सम्झौता अनुसार यो राजमार्ग ०७९ साउनमै सम्पन्न भइसक्न पर्ने हो । तर अहिलेसम्म पनि काम सकिएको छैन। सरकारले फेरि थप एक वर्षको म्याद थप गर्न लागेको हो ।
यो सडक हेर्ने आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार आउँदो बुधवार फेरि सडक स्तरोन्नति गर्ने म्याद (समय अवधि) एक वर्ष थप्न सम्झौता हुने छ।
आउँदो बुधवार सडक विभाग र चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिजियरिङ कर्पोरेसनबीच मन्त्रालयमा लिखित सम्झौता गरेर ०८३ साल साउनसम्मको म्याद थपिने पक्कापक्की भएको हो ।
चिनियाँ ठेकेदारले भने करिब १८ महिना म्याद थप गर्न माग राखेको छ । ठेकेदारको माग अनुसारको समय दिन नसकिने ढकालले सुनाए । उनले भने – थपिएको म्यादमा थप लागत नबढ्ने सर्तमा १ बर्ष म्याद थप गर्ने तयारी गरेका छौं । उनीहरु (ठेकेदार कम्पनी) ले हुन्छ भनेको छ त्यही अनुसार म्याद थप हुन्छ ।
बुटवल–नारायणगढ सडक खण्डको १ सय १३ किलोमिटर सडक मध्ये असार मसान्त सम्म एक सय किलोमिटर सडक कालोपत्रे भएको छ । दुवै तर्फ भने ८० किलोमिटर सडक मात्र कालोपत्रे भएको छ ।
पूर्वी पश्चिम नवलपरासी र रुपन्देहीको बजार क्षेत्रमा ६ लेन, जंगलमा ४ लेन र दाउन्नेमा ३ लेनको सडक निर्माण भइरहेको बुटवल–नारायणगढ सडक निर्माणको काम १७ अर्बमा चिनियाँ ठेकेदारले ठेक्का लिएको हो।