नवलपरासीको बर्दघाटमा बस दुर्घटना, १ को मृत्यु १४ घाइते
रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपरासीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरदत्त पन्तका अनुसार बुटवलबाट नारायणगढका लागि छुटेको लु २ ख ६५७ नम्बरको बस अनियन्त्रित भई बर्दघाट नगरपालिका ५ शान्तिनगर चोकमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक जना अन्दाजी ४०/४५ बर्षीय पुरुषको बर्दघाट स्थित चिसापनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जना मध्ये १ जनाको बर्दघाट चिसापानी अस्पतालमा उपचार भईरहेको र अन्यलाई उपचारका लागि रुपन्देहीतर्फ पठाइएको जनाइएको छ ।
दुर्घटनामा परी काठमाडौं महानगरपालिका १४ कलंकी निवासी ३१ बर्षीय आदर्श अधिकारी, चितवनको खैरहनी नगरपालिका १० निवासी ३५ बर्षीया निर्मलादेवी महतो, पर्सा जिल्लाको बिरगञ्ज उपमहानगरपालिका ३१ निवासी २५ बर्षीय सहलुदिन, बाराका सिसरा गाउँपालिका २ नवलपुर निवासी ५० बर्षीय सत्यनारायण, पर्साको बिरगञ्ज निवासी राजु सुनार, चितवनको बघौडा ३ निवासी ४५ बर्षीय शान्ति महतो, १० बर्षीया स्मारिका महतो, हाल ठेगाना ४० बर्षीय शिव श्रेष्ठ, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ निवासी विकल्प न्यौपाने घाइते भएका छन् ।
त्यसैगरी कपिलवस्तुको सुद्धोधन गाउँपालिका ३ निवासी दिपेन्द्रकुमार यादव, पश्चिम नवलपरासीको सरावल गाउँपालिका १ निवासी ३० बर्षीय सन्तोष क्षेत्री, नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ५ निवासी २४ बर्षीया युमाया बाह्रघरे, सोही ठाउँका १५ महिना बालक महेष बाह्रघरे र नवलपुरको मध्यविन्दु नगरपालिका १५ निवासी २० बर्षीया सलिना थापा घाइते भएका छन् ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।