गाइजात्रामा कावासोती नगरपालिकामा स्थानीय विदा

कुसुम परियार –
नवलपुर । नेवार समुदायको सांस्कृतिक पर्व गाइजात्राको अवसरमा कावासोती नगरपालिकाले स्थानीय विदा गरेको छ ।
कावासोती नगरपालिकाले आज एक सूचना जारी गरी साउन २५ गते परेको नेवार समुदायको सांस्कृतिक पर्व गाइजात्राको अवसरमा कावासोती नगरपालिका भित्र रहेको सरकारी कार्यालय, शैक्षिक संघसंस्था र सार्वजनिक संस्थामा स्थानीय विदा दिएको हो ।
कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालद्वारा जारी सूचनामा सांस्कृतिक पर्व गाईजात्राको शुभकामना व्यक्त गर्दै साउन २५ गते पर्न गएको नेवार जातिको सांस्कृतिक पर्व गाईजात्राको पावन अवसरमा कावासोती नगरपालिका अन्तरगतका सबै सरकारी कार्यालय शैक्षिक संघसंस्थाहरुलाई उक्त दिन स्थानीय विदा गरिएको सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ भनिएको छ ।
यस अघि नेवाः देय दबू नवलपुरका अध्यक्ष मित्रलाल श्रेष्ठ, उपाध्यक्ष भवि श्रेष्ठ, सचिव रामकुमार श्रेष्ठ, सदस्य भोजराज श्रेष्ठ, जिल्ला सदस्य मेखराज श्रेष्ठ लगायतको टोली गएर कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसाललाई ज्ञापन पत्र बुझाउँदै उक्त दिन सार्वजनिक विदा दिन माग गरेका थिए ।
त्यसैगरी नेवाः देय् दबू नवलपुरका अध्यक्ष मित्रलाल श्रेष्ठ र सचिव रामकुमार श्रेष्ठले आज विज्ञप्ति जारी गरी साउन २५ गते आइतबारका दिन नेवार समुदायको गाइजात्रा पर्वको अवसरमा नवलपुरका सम्पूर्ण पालिकाहरुमा स्थानीय विदा दिन माग समेत गरेका थिए ।
त्यसैगरी नवलपुरका अन्य पालिकाहरुमा पनि गाइजात्रा पर्वको दिन स्थानीय विदा गर्न माग गर्दै ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेवाः देय दबू नवलपुरका सचिव रामकुमार श्रेष्ठले बताए ।