नवलपुरका स्थानीय तहहरुले दिए आइतबार स्थानीय विदा
कुसुम परियार –
नवलपुर । नवलपुरका स्थानीय तहहरुले आइतबार स्थानीय विदा दिएको छ ।
आइतबार परेको नेवाः समुदायको सांस्कृतिक पर्व गाइजात्रा पर्वको अवसरमा यहाँ रहेको स्थानीय तहरुले सार्वजनिक विदा दिएका हुन् ।
कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाले सूचना जारी गरेर नेवाः समुदायको सांस्कृतिक पर्वको रुपमा आइतबार स्थानीय विदा दिएको छ ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिकाले आइतबार नेवाः समुदायको सांस्कृतिक पर्व गाइजात्रा र ३१ औं विश्व आदिवासी दिवसको अवसर पारेर स्थानीय विदा दिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार ३१ औैं विश्व आदिवासी दिवस शनिबार साउन २४ गते परेको भए पनि देवचुली नगरपालिका र गैडाकोट नगरपालिका तथा बौदीकाली गाउँपालिका र बुलिङ्गटार गाउँपालिकाले पनि आइतबार विश्व आदिवासी दिवसको अवसरमा भनेर आआफ्नो पालिका भित्र शैक्षिक संस्था, सरकारी कार्यालय र सामाजिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिएको छ ।