नारायणी नदीमा हाम फालेर एक जना पुरुष वेपत्ता

रामकुमार श्रेष्ठ –
नवलपुर । चितवन र नवलपुरलाई जोड्ने नारायणी नदी पुलमा आज साँझ एक जना पुरुष पुलबाट हाम फालेर वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज साँझ करिब पौने सात बजेतिर एक जना पुरुष नदीमा हाम फालेर वेपत्ता भएका हुन् ।
पुलमा भेटिएको झोलामा रहेकोका कागज पत्र अनुसार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ साविक दुम्किबास ७ निवासी ४३ बर्षीय पुरुष गिरीराज कंडेल पुलबाट हाम फालेर वेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरीको टोलीले उनको खोजी कार्य जारी राखेको जनाएको छ ।
नारायणी नदीमा पानीको बहाव तीव्र भएकाले उद्धारमा कठिनाइ भइरहेको र, घटनाको कारण खुल्न नसकेको नवलपुर प्रहरीले जनाएको छ ।