दाउन्नेको बाटो आज पनि अवरुद्ध




कुसुम परियार –

नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटववल सडक खण्ड आज पनि विहानैदेखि अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराका अनुसार दाउन्नको विश्वकर्मा मन्दिरदेखि केही माथि ६५ मोडबाट सडक अवरुद्ध भएको हो ।




यहाँ बाटो विग्रिएको र सडक पानीले हिलो र चिप्लो भएको कारण अव?द्ध भएको उनले जानकारी दिए । दाउन्ने सडक खण्ड पछिल्लो एक सातादेखि अनियमित रहेको छ । सोमबारदेखि दाउन्नेको सडकमा यातायात सञ्चालन अनियमित भएको छ ।

नवलपुरको दाउन्ने विश्वकर्मा मन्दिरदेखि ६५ मोड भन्ने ठाउँसम्म करिब डेढ किलोमिटर बाटो ठाउँठाउँमा एकतर्फी रहेको छ । जहाँ सामान्य पानी परेर बाटो हिलो र चिप्लो हुनासाथ सवारी साधन उकालोमा उक्लन नसकि फस्ने गरेका कारण सडक अवरुद्ध हुने गरेको छ ।

अवरुद्ध सडक खुलाउने प्रयास भई रहे पनि पानी नरोकिएसम्म बाटो खुलाउन सकिने सम्भावना निक्कै कम रहेको प्रहरीले जनाएको छ ।

दाउन्नेको १४ किलोमिटर सडक खण्ड मध्ये दाउन्ने केन्द्रित रहेर अहिले सडक विस्तारको काम भए पनि यहाँ सडक ढलान तथा कालो पत्रे हुन नसक्दा सामान्य पानीमा बाटो हिलो हुने र घाम लाग्दा बाटो धुलाम्य हुने गरेको छ ।

१४ किलोमिटर सडक खण्ड मध्ये पश्चिम तर्फ ३ किलोमिटर बाटो कालो पत्रे भएको छ भने पूर्व र पश्चिम खण्डमा गरी करिब २ किलोमिटर सडक एकतर्फी ढलान भएको छ ।

अहिले सबैभन्दा बढी दाउन्नेको विश्वकर्मा मन्दिर आसपासको क्षेत्रमा समस्या देखिने गरेको छ । यहाँ कल्भर्ड निर्माणको काम नसकिएको कारण बाटो एकतर्फी मात्र रहेको छ । भने कतिपय ठाउँमा ढालनको काम भईरहेको क्षेत्रमा पनि बाटो एकतर्फी रहेको छ । यस क्षेत्रमा अहिले पनि ४/५ ठाउँमा सडक एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

दाउन्नेको सडक खण्डका कारण यस बर्षको चाडपर्वमा यात्रुहरुलाई यात्रा असहज हुने भएको छ । यात्रुहरु यस पटकको चाडपर्वमा पनि दाउन्नेमा जोखिम मोलेर यात्रा गर्न बाध्य हुने भएको छ ।



सम्बन्धित
Loading...