नमुना सदरमुकामकै भवनको छैन नक्शा पास




रामकुमार श्रेष्ठ –

करिब एक सय ८० विगाहा क्षेत्रफलमा नमुना सदरमुकाम भित्रको भवनहरु निर्माण कार्य अहिले धमाधम चल्दैछ । यहाँ २ पटक गरी लागेको ठेक्कबाट ९ वटा कार्यालय भवनका साथै सभाहल, गेट, वाल कम्पाउण्ड, केरुङ्गे खोलामा तटबन्धन, सडक कालो पत्रे लगायतका काम हुँदैछ ।




दुई फरक निर्माण कम्पनीले काम थालेको हालको आयोजनाको लागत ५ अर्ब २१ करोड रहेको छ । नमुना सदरमुकामको डिपिआर बमोजिम सबै काम सक्न कुल १६ अर्ब २५ करोड ५३ लाख ९० हजार लाग्ने अनुमान गरिएको छ ।

संघीय सरकार अन्तरगतको जिल्ला प्रशासन कार्यालय, नवलपुर जिल्ला अदालत, जिल्ला समन्वय समिति, सशस्त्र प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय, सभा हल र ४ वटा एकिकृत भवनको काम अघि बढिरहेको छ । तर यि भवनहरुको नक्सा भने अझै पास भएको छैन । यहाँ बन्ने संरचनाहरुको नक्सा तयार पार्ने, ठेक्का लगाउन सबै काम सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले गर्दै आएको छ ।

कुनै पनि संरचनाहरु निर्माण गर्दा स्थानीय तहमा नक्सा पास गर्नु प्रावधान रहे तापनि त्यसो नगरेको पाइएको हो । कावासोती नगरपालिकाका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले नमुना सदरमुकाम भित्र निर्माण गरिरहेको कुनै पनि भवन तथा संरचनाको नक्सा पास गरेको छैन ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपडबहादुर थापाले नमुना सदरमुकाम भित्र निर्माण भएका भवन तथा संरचनाहरुको नक्सा कावासोती नगरपालिकाबाट पास गराउनु पर्ने भए पनि आफूहरुले अझै पास नगरेको स्वीकार गरेका छन् । उनले अब प्रक्रियामा जाने पनि बताएका छन् ।

पाँच वर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नवलपुरको नमुना सदरमुकामको काम यतिबेला तिब्रगतिमा अघि बढेको छ। सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले रेखदेख गरेको संघीय सरकारको यो परियोजना ०८४ कार्तिक २८ भित्रै सम्पन्न हुने उल्लेख छ ।

कावासोती नगरपालिका ३ मा रहेको स्थानीय ज्योतिकुञ्ज सामुदायिक वनको १ सय ७९ बिघा जमीन मन्त्रीपरिषदको निर्णयबाट नेपाल सरकारको नाममा लालपुर्जा प्राप्त भएको थियो। हाल आयोजना स्थलमा चौधरी कन्स्ट्रक्सन प्रा.लि. गौर र समानन्तर–बुद्व हिमाली जे.भि. पुरानो वानेश्वर काठमाडौंले निर्माण कार्य जारि राखेका छन्। प्रोजेक्ट इन्जिनियर दिपेन्द्र केसीका अनुसार दैनिक २ सय पचास कामदारले आवासीय रूपमै काम गरेका छन्।

चौधरी कन्स्ट्रक्सन प्रालिले जिल्ला प्रशासन कार्यालय रहने भवन सहित २ वटा एकीकृत भवन बनाउँदैछ । २ वटा एकीकृत भवनमा ४ वटा सरकारी कार्यालय रहने छन् । यो ३ वटा भवनका लागि ३४ करोडमा ठेक्का गएको हो । पहिलो चरणको ३ वटा भवन निर्माणका लागि २०८१ साल असारमा साढे २ बर्ष भित्र सक्ने गरी सम्झौता भएको थियो ।

त्यसैगरी ८४ कार्तिकसम्म सक्ने गरि संघीय सरकार अन्तरगतको नवलपुर जिल्ला अदालत, जिल्ला समन्वय समिति, सशस्त्र प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय, सभा हल र २ वटा एकिकृत भवनको काम अघि बढिरहेको छ। त्यस्तै सोही समयमै सक्ने गरि ७ किलो मिटर बाटो कालो पत्रे, नाला, फुटपाथ, कम्पाउण्ड वाल र केरूङ्गे खोलामा ढेड किलो मिटर ग्याबियन भर्ने काम पनि एकसाथ अघि बढाइने भएको छ।

यो कामका लागि र समानन्तर–बुद्व हिमाली जे.भि. पुरानो वानेश्वर काठमाडौंसँग २०८२ साल बैशाख २९ गते सम्झौता भएको हो । यसका लागि २०८४ साल कात्तिक २८ गते भित्र काम सम्पन्न गर्ने गरी ४ अर्ब ९२ करोडमा सम्झौता भएको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर कुन्दन तिवारीले जानकारी दिए ।

देशकै नमुना मानिएको सदरमुकाम स्थलमा संघीय सरकारका २२ र प्रदेश अन्तरगतका ११ कार्यालय रहने छन्। त्यस अतिरिक्त कावासोती नगरपालिकाको भवन, २५ हजार दर्शक अट्ने फुटबल रंगशाला र १५ हजार दर्शक क्षमताको क्रिकेट मैदान पनि यहिं बन्ने निधो भएको छ। पुरानो बजारबाट माथी सदरमुकाम पस्ने ठाउँमा अतिरिक्त एउटा गेट थप्नुपर्ने पूर्व संघीय सांसद तिलक महतले बताए। हाल मूल गेट र सहायक गेटहरूको पनि निर्माण कार्य जारी रहेको छ।

२०७२ सालमा नेपालको गणतान्त्रिक संविधान जारी हुँदा ७५ जिल्लाबाट मूलुक ७७ जिल्लामा परिणत भएको थियो। रूकुम र नवलपरासी टुक्रिएर पूर्वी रूकुम र नवलपुर गरि २ जिला थपिएका थिए। कान्छो जिल्ला नवलपरासी पूर्वका सरकारी कार्यालयहरूले भाडाका घरबाट सेवा प्रदान गर्दै आइरहेका थिए । आफ्नै भवन बन्ने भएपछि कर्मचारी र सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

नमुना सदरमुकाम निमार्णका लागि सरकारले पहिलो चरणमा ८० करोड र दोस्रो चरणमा ४ अर्ब बजेट सुनिश्चित गरिसकेको छ ।

त्यसैगरी कावासोतीका अन्य केही सरकारी कार्यालय, जनप्रतिनिधिले निर्माण गरेको संरचना र केही धनाढ्य व्यापारीहरुले निर्माण गरेका भवनहरुको पनि नक्सा पास नगरेको पाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको जिल्ला प्रहरी कार्यालय नजिकै बन्दै गरेको भवन, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले आफ्नो छोराको नाममा सञ्चालनमा ल्याएको सुनचाँदी पसलको भवन पनि नक्सा पास भएको छैन ।

कावासोती नगरपालिकाका इन्जिनियर पवन रुपाखेतीका अनुसार सेन्ट्रल कलेजले कावासोतीमा निर्माण गरेको भवन ४ तालको मात्र नक्सा पास भएको छ तर उक्त भवन ७ तलाको निर्माण गरिएको छ । त्यसैगरी कावासोती गुम्बा चोकमा केदार बास्तोलाले बनाएको घरको ४ तलाको मात्र नक्सा पाए भए पनि त्यो भन्दा बढी संरचना निर्माण गरेका छन् ।

त्यसैगरी रामचन्द्र भण्डारीको भण्डारी हार्डवयर रहेको भवन र मध्यविन्दु कलेज जाने बाटो अगाडि विन्दु केसीले निर्माण गरेको घरको पनि नक्सा पास नभएको कावासोती नगरपालिकाले जनाएको छ ।



सम्बन्धित
Loading...