नमुना सदरमुकाम जाने गेट राख्न माग, स्थानीयले बुझाए ज्ञापन पत्र




नवलपुर । नवलपुरको कावासोतीमा निर्माणधिन नमुना सदरमुकाम निर्माणको क्रममा कावासोती ३ को पुरानो कावासोतीबाट कावासोती ४ हसौरामा जाने बाटो मासेको भन्दै उक्त बाटो कायम गर्न स्थानीयले माग गरेका छन् ।

उनीहरुले मंगलबार कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसाललाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग राखेका हुन् । साथै उनीहरुले पुरानो कावासोतीबाट हसौरा जाने बाटोमा पर्ने बाटोबाट नमुना सदरमुकाम जोड्ने गेट राख्न पनि माग गरेका छन् ।




कावासोती ३ पुरानो कावासोतीका पूर्व जनप्रतिनिधि टेकबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको वैठक पछि यहाँका बासिन्दाले ज्ञापन पत्र बुझाएका हुन् । कावासोती टोल विकास संस्थाका अध्यक्ष धर्मराज कोइरालाको नेतृत्वमा आएको टोलीले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउँदै हसौरा जाने बाटो यथावत नराखी र सदरमुकाम जोड्ने गेट नराखिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

परापूर्वकालदेखि हसौरा, जुकेपानी, छिपपिछे हुप्सेकोट, धौवादी, झ्यालबास लगायतका बासिन्दा यही बाटो प्रयोग गरेर कावासोती झर्ने गर्दथे । बाटो मासिएपछि अहिले यो बाटो कमैले मात्र प्रयोग गर्ने गरेका छन् । कावासोती ३ पुरानो कावासोती र कावासोती ४ हसौराका बासिन्दालाई अहिले एक अर्कोको गाउँ जान ३ किलोमिटर बढी घुमेर जानु पर्ने बाध्यता सिर्जना भएको छ ।

त्यसैगरी उनीहरुले कावासोती ३ को केरुङ्गे खोलामा फोहोर फाल्न लैजाँदा जंगलभरी फोहोर झार्दै जाने गरेका कारण त्यसलाई रोक्नु पर्ने माग पनि गरेको स्थानीय बासिन्दा सालिकराम कोइरालाले बताए ।

ज्ञापन पत्र बुझ्दै कावासोती नगरप्रमुख विष्णु भुसालले पुरानो र चलनचल्तीको बाटो मास्ने काम गलत भएको भन्दै यस विषयमा आफूले सम्बन्धित वैठकमा आवाज उठाउने र गेट राख्नका लागि पनि पहल गर्ने बताए ।



सम्बन्धित
Loading...