कावासोतीमा आलोक स्मृति राष्ट्रिय म्याराथुन प्रतियोगिता हुने




रामकुमार श्रेष्ठ –  

नवलपुर । नवलपुरको कावासोतीमा आलोक स्मृति राष्ट्रिय म्याराथुन प्रतियोगिता हुने भएको छ ।




जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा आगामी कात्तिक १ गते प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति नवलपुरद्वारा आज कावासोती १६ डण्डामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा २० जना खेलाडीले भाग लिने छन् ।

प्रतियोगितामा ७ वटा प्रदेशका २/२ जना गरी १४ जना र ३ विभागीय टिमका २/२ जना गरी ६ जना सहित २० जना खेलाडीहरु सहभागिता हुने छन् ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुने दुई जनाले ५ हजारको दरले पुरस्कार पाउने जनाइएको छ ।

डण्डा, झ्यालबास, गिरुवारी, चोरमारा, कोल्हुवा हुँदै डण्डा आउने आलोक चक्रपथ निर्माणको काममा भएको ढिलाई प्रति दबाब दिन र नवलपुर क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न प्रतियोगिता आयोजना गरिएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले बताए ।

प्रतियोगिता कावासोतीको नवदुर्गा प्रादेशिक क्रिकेट खेल मैदानबाट शुरु भई नमुना सदरमुकाम हुँदै डण्डाबाट आलोक चक्रपथ परिक्रमा गरी डण्डामा आएर समापन गरिने छ ।

प्रतियोगितामा प्रदेश एथलेटिक्स संघ गण्डकी प्रदेशको प्राविधिक सहयोग रहने छ । त्यसैगरी आलोक चक्रपथ जोडिएका कावासोती नगरपालिका, हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिकाको आर्थिक सहयोग रहने जनाइएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको प्रर्बद्धनमा कार्यक्रम हुन लागेको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले बताए । प्रतियोगितामा ७ लाख खर्च हुने अनुमान गरिएको छ ।



सम्बन्धित
Loading...