नवलपुरमा अटो दुर्घटना १ जनाको मृत्यु, ११ जना घाइते

कुसुम परियार –
नवलपुर । नवलपुरको देवचुली नगरपालिका ६ टोक्रे खोला पुलमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
देवचुलीको कृतिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नम्बरको समान बोक्ने अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो भने ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार सामान बोक्ने (पछाडि ढाला भएको) अटो चालकले नियन्त्रण गुमाइ बाटोबाट तल खसी दुर्घटना भएको हो ।
दुर्घटनामा परी अटोमा सवार भारतको मोतिहारी निवासी ३५ बर्षीय रिजुवान खातुनको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
अटोमा सवार १२ जना मध्ये बाँकी ११ जना सबै घाइते रहेको प्रहरीले जनाएको छ । घाइते सबै भारतीय नागरिक हुन् । घाइते ११ जना मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने ९ जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको छ । दुर्घटनामा परी भारतकै मोतिहारी निवासी ३५ बर्षीया सवना खातुन गम्भीर घाइते भएका छन् ।
त्यसैगरी सोही ठाउँका १८ बर्षीया रजिया खातुन, ४२ बर्षीया मोहम्त रजा, १५ बर्षीया मेहक यीसतयाक, १८ बर्षीया मौजमा इमाम घाइते भएका छन् ।
त्यसैगरी सोही ठाउँका १२ बर्षीया जोया इस्तियाक, ११ बर्षीया निजामुदिन हुसेन, १४ बर्षीया सावा खातुन, १२ बर्षीय उमर रजा, १६ बर्षीया कुलसुम वान घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । उनीहरु भारतबाट नवलपुरमा आफन्तको विवाहमा आएको र सोही क्रममा नवलपुरका पहाडी क्षेत्र घुम्न गएको खुल्न आएको नवलपुर प्रहरीले जनाएको छ ।