छिपछिपे सहकारीको रकम हिनामिना प्रकरण : राप्रपा सांसद बस्नेत १५ लाख धरौटीमा रिहा


बोमलाल गिरी –
नवलपुर । सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राप्रपा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य गीता बस्नेत १५ लाख रुपियाँ धरौटीमा रिहा भएकी छिन् ।



उनी नवलपुर जिल्ला अदालतबाट धरौटी बुझाएर रिहा  भएको अदालतका सूचना अधिकारी सरिता अर्यालले जानकारी दिइन् । न्यायाधीश कमलप्रसाद ज्ञावालीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो ।

मुद्दा दर्ता गरेदेखि नै फरार रहेकी बस्नेत बुधबार दुई जना वकिलसहित जिल्ला अदालत पूर्वी नवलपरासीमा बिहान साढे १० बजे हाजिर भएकी थिइन् ।




नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राप्रपाबाट बर्दियाकी प्रतिनिधि सभा सदस्य बस्नेत, उनका ज्वाँईं नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाकै योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपिकृष्ण शर्मा, विनाधितो ऋण लिने बर्दियाकै शिवलाल लामिछानेसहित ३५ जनाविरुद्ध मुद्धा दर्ता भएको थियो ।

बस्नेताविरुद्ध एक वर्षअघि नै पक्राउ पूर्जि जारी भएको थियो । पक्राउ पुर्जि जारी भएपछि उनको पार्टीले पनि अदालतमा उपस्थित भएर छानविनलाई सहयोग गर्न निर्देशन दिएको थियो । तर उनी एक वर्षपछि खुसुक्क अदालतमा उपस्थित भएर धरौटीमा रिहा भएकी हुन् ।

सांसद बस्नेतले चितवनको सनराइज बचत तथा ऋण सहकारी संस्था, बदिर्याको नमस्ते बचत तथा ऋण सहकारी र नवरपुरको छिपछिपे उपभोेक्ता सहकारी संस्थाबाट आफ्ना ज्वाई नगेन्द्रबहादुर रिमाल र अन्य साथी मार्फत रकम निकासी गरेर हिनामिना गरेको प्रहरीको भनाइ छ ।

बस्नेत समेतको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोर्टमा नवलपुर, चितवन र बर्दियाका सहकारीको बचत लगानी गरि हिनामिना गरिएको प्रदेश रजिष्ट्रार कार्यालयको अनुसन्धानले देखाएको थियो ।

सांसद बस्नेतका छोरीज्वाइँ एवं छिपछिपे सहकारीका सचिव, सनराइज र नमस्ते सरकारीका अध्यक्षसमेत रहेका रिमामालले २१ कट्ठामा भएको रिसोर्टको संरचना तयार गर्ने क्रममा सहकारीबाट रकम ल्याएर लगानी गर्ने र रिसोर्टबाट प्राप्त हुने नाफा सहकारीमा राख्ने भनी सनराइजबाट ७ करोड र नमस्तेबाट ७ करोड रकक लगेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

छिपछिपे सहकारीमा संचालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ हिनामिना भएको घटनामा अझैपनि छानविन चलिरहेको छ ।



सम्बन्धित
Loading...