नवलपुरमा ठक्करबाट स्कूटीमा सवार १ जनाको मृत्यु, २ जना गम्भीर घाइते
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–८ गडारखोला नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कुटर र तेल लोड ट्याङ्कर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज बिहान करिब ६:३० बजे चोरमारा बाट अरुणखोला तर्फ जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाई नारायणगढबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ६६३४ नम्बरको तेल लोड ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करपछि ट्याङ्कर सडकबाट करिब १५ मिटर तल झरेको बताइएको छ ।
उक्त दुर्घटनामा स्कुटर चालक मध्यबिन्दु नगरपालिका–१३ मैनाघाट बस्ने ४० वर्षीय विर बहादुर सिँजालीलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा बिहान ७:१३ बजे चिकित्सकले मृत घोषणा गर्नुभएको थियो ।
त्यस्तै, स्कुटरमा सवार मध्यबिन्दु–७ अम्रसा बस्ने २३ वर्षीय चन्द्रबहादुर गाहा र मध्यबिन्दु–९ बसन्तपुर बस्ने ३१ वर्षीय समिरजंग कुमाल घाइते भएका छन् । दुवै जनाको टाउको र हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दुवैजनाको अवस्था मध्यम रहेको र उनीहरूको उपचार मध्यबिन्दु प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा संलग्न ट्याङ्कर चालक सल्यान शारदा नगरपालिका–१४ घर भई हाल दाङ तुल्सिपुर उपमहानगरपालिका–६ बस्ने ४७ वर्षीय खलकराम भण्डारीलाई प्रहरी चौकी अरुणखोलाले नियन्त्रणमा लिएको छ ।