नवलपुरमा एकै दिन २ जनाको हत्या

नवलपुरमा फेरि अर्को हत्या, अनुसन्धानका लागि ५ जना पक्राउ




कुसुम परियार – 

नवलपुर । नवलपुरमा एकै दिन २ जनाको हत्या भएको छ । नवलपुरको गैडाकोट नगरपालिका ४ मा एक जना पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । गएराति गैडाकोट नगरपालिका १ धारापानी निवासी ३३ बर्षीय नारायण कुमालको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।




आक्रमणबाट गम्भीर घाइते कुमालको राति नै भरतपुर सरकारी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

उनका अनुसार कुमाललाई गैडाकोट नवलपरासीका ४ इट्टाभट्टे भन्ने स्थानमा अज्ञात समूहले आक्रमण गरेको हो ।

घटनाको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उनले जानकारी दिए । हत्याराको अझै पहिचान हुन सकेको छैन । कुमालको बाँया हात र ढाडमा चोट लागेको थियो । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

घटना स्थल इलाका प्रहरी कार्यालय गैडाकोटदेखि ४ किलोमिटर उत्तरमा पर्दछ ।

त्यसैगरी नवलपुरमा गएराति देउसी भैली खेल्ने क्रममा कुटपिट हुँदा विनयी त्रिवेणी गाउँपालिका ४ दुमकट्टा निवासी ४४ बर्षीय सन्तबहादुर ठाडा मगरको मृत्यु भएको छ ।

उनको हत्या आरोपमा कुटपिटमा सम्लग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयले शान्ति सुरक्षा कामय हुनु पर्ने माग गर्दै प्रदर्शन समेत गरेका छन् ।

उनको शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा राखिएको छ । भैली खेल्ने टोली र सन्तबहादुर ठाडा मगरबीच विवाद हुँदा भैली टोलीले उनीमाथि कुटपिट गरेका थिए ।



सम्बन्धित
Loading...