दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
बालेनको प्रत्यक्ष संलग्नता रहेको दाबी, सुमना र सुधनको संलग्नता

ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा नयाँ दल निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीको नाम ‘उज्यालो नेपाल’ र चुनाव चिन्ह बिजुलीको बल्ब प्रस्ताव गरेर आयोगमा निवेदन दिन लागिएको हो ।
आगामी चुनावमा भाग लिने गरी नयाँ वैकल्पिक शक्तिको निर्माण गर्न कुलमान जुटेका हुन् । पार्टीको संयोजक (अध्यक्ष) मा उनी स्वयं रहने सम्भावना रहे पनि फाइनल नभइसकेको स्रोतको भनाइ छ ।
‘उहाँ अहिले मन्त्री पदमा पनि रहनुभएकाले आफैँ पार्टी अध्यक्ष बन्ने कि नबन्ने भन्ने टुंगिइसकेको छैन । यद्यपि, ९० प्रतिशत सम्भावना उहाँ नै अध्यक्ष बन्ने छ,’ स्रोतले भन्यो ।
तत्कालीनरूपमा पार्टीमा संयोजक र केन्द्रीय सदस्यहरू मात्र रहनेछन् । २१ जनाको केन्द्रीय कमिटी राख्ने गरी छलफल भइरहेको स्रोतको भनाइ छ ।
पार्टी निर्माणमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको प्रत्यक्ष संलग्नता र दृढ समर्थन रहेको कुलमान निकट स्रोतको दाबी छ ।
‘उहाँ आफैँ पार्टीको कुनै जिम्मेवारीमा रहनुहुन्न, तर पार्टीलाई खुलेर समर्थन गर्नुहुनेछ,’ स्रोतले भन्यो ।
बालेनको टीमबाट २ जना केन्द्रीय समितिमा रहन सक्ने पनि स्रोतले बतायो । उनीहरू बालेनको पहिलो लेयरका नभएर दोस्रो लेयरका व्यक्तिहरू हुने स्रोतको भनाइ छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी सुमना श्रेष्ठ पनि कुलमान टीमसँग संवादमा छिन् । यद्यपि, प्रारम्भिक केन्द्रीय कमिटीमा उनी नरहन सक्ने जनाइएको छ । सुमनाले आफ्नो तर्फबाट केही सिफारिस गरेकी छन् ।
कुलमान टीमसँग जोडिन सक्ने अर्का पात्र हुन् सुधन गुरुङ । जेन-जी आन्दोलनपछि उदाएका गुरुङ पनि केन्द्रीय कमिटीमा रहने वा नरहने तय भइसकेको छैन । उनको टीमबाट २-३ जनाको नाम सिफारिस भएको बुझिएको छ ।
यसैगरी, चर्चित अभियन्ताहरू सागर ढकाल, सोम शर्मालगायतको नाम केन्द्रीय समितिमा प्रस्ताव गरिएको छ । २१ जनाको केन्द्रीय कमिटी टुंग्याइनुअघि सबैको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) चेक गर्ने आन्तरिक समझदारी रहेको स्रोतले बतायो ।
‘पछि गएर विवाद नआओस् भनेर सुरूमै सतर्कता अपनाउँदै सीआरएस हेर्ने कुरा भएको छ,’ स्रोतले भन्यो ।
कुनै पनि अपराधिक कार्यमा मुछिएर मुद्दा फर्छ्यौट नभएका वा फरार रहेका अभियुक्तहरूको रेकर्ड प्रहरीको सीआरएसमा हुने गर्छ । हालै मात्र मन्त्रीमा प्रस्तावित खगेन्द्र सुनारको नाम सीआरएसमा पाइएपछि उनको नियुक्ति रोकिएको थियो ।
आजै २१ जनाको नाम फाइनल गरी भोलिसम्म पार्टी दर्ता गर्ने गरी गृहकार्य भइरहेको स्रोतले जनाएको छ । ‘ढिलोमा शुक्रबारसम्म आयोग गइसक्छौँ’, स्रोतले भन्यो ।