नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली

रामकुमार श्रेष्ठ –
नवलपुुर । नवलपुरको कावासोती ३ मा निर्माणाधिन नमुना सदरमुकाममा भौतिक संरचना निर्माणको लागि प्रयोग गरिने अर्बौंको ढुंगामा करोडौंको राजश्व छलि गरेको पाइएको छ ।
नमुना सदरमुकाममा ढुंगा आपूर्तिको जिम्मा पाएको कावासोतीका क्रसर व्यवसायी हेमुशंकर देवकोटाले विना बिल विजक, स्टक प्रमाणित समेत नगरेका चोरीका ढुंगाहरु विक्री गरेका छन् ।
जिल्ला प्रशासन र सम्बन्धित पालिकाले कामको अनुगमन नगर्दा यस्तो भएको पाइएको हो । सम्बन्धित पालिकाका कर्मचारी, प्रहरी, प्रशासन, ठेकेदारका साथै भवन निर्माण हेर्ने निकाय सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका कार्यलयका कर्मचारीहरु सहितको मिलेमतोमा यस्तो भएको पाइएको हो ।
स्थानीय क्रसर व्यवसायी एवम ठेकेदार हेमुशंकर देवकोटाले उक्त निर्माण क्षेत्रमा ढुंगा आपूर्तिको जिम्मा लिएको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले यस विषयमा आफूले सम्बन्धित व्यापारी देवकोटसँग कुराकानी गरेको र उसले उक्त ढुंगाको कागजपत्र पु¥याउन नसके प्रशासनले जफत गर्ने जनाए ।
पाण्डेले भने – नमुना सदरमुकाम निर्माणको काम पनि रोकिन भएन काम गर्ने बाहनामा राजश्व छली, अवैध उत्खनन तथा चोरी निकासी पनि हुनु भएन । यति उसले ढुंगाको कहाँबाट कसरी ल्याएको प्रमाणित गर्न नसके जफत हुन्छ ।
नवलपुर जिल्लामा गत बर्ष खोलामा गिटी बालुवाको ठेक्का खुल्दासम्म नमुना सदरमुकाममा नदेखिएको यत्रा ढुंगा, खोला ठेक्का बन्द भएपछि रातारात थुप्रिएका हुन् । नमुना सदरमुकाम निर्माण स्थलमा गाउँबाट हेर्दा देखिने स्थानमा बारबेर गरेर काम गरिएको भए पनि ढुंगा ल्याउने स्थानमा भने चोरी गरेर थुपार्न मिल्ने गरी खुल्ला राखिएको छ ।
यो ढुंगा कावासोतीको केरुङ्गे खोला, पत्थर खोला, हुप्सेकोटको गिरुवारी खोला लगायतका खोलाहरुबाट चोरी गरी ल्याएको खुलेको छ ।
स्थानीय क्रसर व्यवसायी एवम ठेकेदार हेमुशंकर देवकोटासँग यस विषयमा कुरा गर्दा उनले कुनै प्रतिक्रिया दिएनन् । उनले यस विषयमा भेटेरै कुरा गर्ने भन्दै तर्किए ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेष पाण्डेले आफूहरुले यस विषयमा अध्ययन गरिरहेको जानकारी दिए । उनले भने निर्माणको नाममा राजश्व छलि हुन भएन ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेले आफूले यस विषयमा प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित पक्षसँग छलफल गरिरहेको जानकारी दिए ।
सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख कृष्णकुमार महर्जनले आफूहरुले समान कहाँबाट कसरी ल्यायो भन्दा पनि ठेक्का अनुसार काम भए नभएको मात्रै हेर्ने विषय भएकोले यस विषयमा खासै जानकारी नभएको बताए ।
उनले भने – निर्माणको नाममा प्राकृतिक स्रोत साधनको दोहन हुन भएन । त्यसैले हामीले स्थानीय पालिका र प्रशासनलाई यस विषयमा अनुगमन गर्न अनुरोध गरेका छौं ।

करिब एक सय ८० विगाहा क्षेत्रफलमा नमुना सदरमुकाम भित्रको भवनहरु निर्माण कार्य अहिले धमाधम चल्दैछ । यहाँ २ पटक गरी लागेको ठेक्कबाट ९ वटा कार्यालय भवनका साथै सभाहल, गेट, वाल कम्पाउण्ड, केरुङ्गे खोलामा तटबन्धन, सडक कालो पत्रे लगायतका काम हुँदैछ ।
दुई फरक निर्माण कम्पनीले काम थालेको हालको आयोजनाको लागत ५ अर्ब २१ करोड रहेको छ । नमुना सदरमुकामको डिपिआर बमोजिम सबै काम सक्न कुल १६ अर्ब २५ करोड ५३ लाख ९० हजार लाग्ने अनुमान गरिएको छ ।
संघीय सरकार अन्तरगतको जिल्ला प्रशासन कार्यालय, नवलपुर जिल्ला अदालत, जिल्ला समन्वय समिति, सशस्त्र प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय, सभा हल र ४ वटा एकिकृत भवनको काम अघि बढिरहेको छ ।
कावासोती नगरपालिकाले अवैध ढुंगा खरिद गरेको सम्बन्धमा ठेकेदार कम्पनी समानान्तर जेभीलाई पत्र काट्ने तयारी गरेको छ । ढुंगा आपूर्तिको जिम्म पाएको व्यापारी हेमु शंकर देवकोटा जिल्ला प्रशासन कार्यालयबाट कागज पत्र मिलाइदिन भन्दै जिल्ला प्रशासन धाउने गरेको र एक जना अधिकृत मार्फत प्रमुख जिल्ला अधिकारीसँग कुरा मिलाउन धाइरहेको समेत खुलेको छ ।