तिब्र गतिमा सवारी चलाउने ५० चालक कारवाहीमा परे
नवलपुर । नवलपुरमा तिव्र गतिका कारण सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले ओभर स्पिटमा सवारी चलाउने सवारी चालकलाई कारवाही अगाडि बढाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले पछिल्लो २ दिनेमा गरेको चेकिङको क्रममा मात्रै ५० बढी सवारी चालक कारवाहीमा परेको छन् ।
ट्राफिक प्रहरीले सवारी साधनको गति मापन गर्ने यन्त्र राडर गनद्वारा सवारीको गति अर्थात स्पिट चेक गर्ने गर्दछ । राडर गन मार्फत ट्राफिक प्रहरीले टाढाबाट आउँदै गरेको सवारी साधनको गति मापन गर्न सक्ने छ ।
गाउँ बस्ती बजार भएको सडकमा प्रति घण्टा ४० किलोमिटर र जंगल क्षेत्र भएको सडकमा प्रति घण्टा ६० किलोमिटर भन्दा बढी सवारी चलाउने सवारी चालकलाई कारवाही शुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ । दुई दिन कावासोतीको फलफूल चोकदेखि पूर्व खरकट्टा जंगल आसपासको क्षेत्रमा गरिएको चेकजाँचको क्रममा ५० वटा सवारी चालक कारवाहीमा परेका हुन् । उनीहरुलाई ५ सय देखि १५ सय रुपैयाँसम्म जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
पहिलो पटक कारवाही पर्नेलाई ५०० रुपैयाँ, दोस्रो पटक कारवाहीमा पर्नेलाई १ हजार तेस्रो पटक कारवाहीमा पर्नेलाई १५ सय गरी जरिवाना रकम बढ्दै जानेछ ।
त्यसैगरी ट्राफिक प्रहरीले सवारी दुर्घटना बढेपछि मापसे र लापसे पनि चेकिङ्ग बढाएको जनाएको छ । अहिले सडक फराकिलो र राम्रो भएपछि नवलपुरमा तिब्र गतिका कारण दैनिक जसो सवारी दुर्घटना हुन थालेको छ ।

