हुप्सेकोटको गिरुवारी कोलिया सडक खण्ठडमा अटो र स्कुटी जुध्दा ७ जना घाइते

कुसुम परियार –
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका २ लाहुरे चोकमा आज दिउँसो अटो र स्कुटी एक आपसमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लाहुरे चोक स्थित भित्रि सडक खण्डमा गिरुबारीबाट कोलियातर्फ जादै गरेको ग.प्र.००४–०१ ह १५४ नंं.को अटो र बनढाडीबाट शिबमन्दिर चोकतर्फ जादै गरेको ग.प्र. ०४–००१ प ९१२९ नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटीमा सवार ३ जना र अटोमा सवार ४ जना गरी ७ जना घाइते भएका हुन् ।
दुर्घटनामा परी स्कुटर चालक हुप्सेकोट गाउँपालिका २ निवासी १९ बर्षीय अमृत मल्ल, स्कुटरमा सवार १७ बर्षीय सुशिल बंशी ठकुरी र स्कुटरमै सवार अर्का व्यक्ति २० बर्षीय अमृत सिंह ठकुरी घाइते भएका छन् ।
त्यसैगरी अटो चालक हुप्सेकोट २ निवासी ४२ बर्षीय ओम बहादुर कुमाल, अटोमा सवार यात्रुहरु १६ बर्षीय कमल बि.क., १८ बर्षीय आशिक परियार र १७ बर्षीय सागर बस्याल घाइते भएका छन् ।
घाइतेहरु मध्ये गम्भीर घाइते सुशिल बंशी ठकुरी र अमृत सिंह ठकुरीलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।
त्यसैगरी नवलपुरको गैडाकोट २ भृकुटी चोकमा लु १ ख ८१२० नं. को डिजेल लोड ट्याङकरले उत्तरबाट दक्षिणतर्फ बाटो क्रश गर्दै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री जिल्ला बाग्लुङ घर भई हाल गैडाकोट नगरपालिका ५ निवासी ४२ की बबिता देबि शर्मा घाईते भएका छन् ।
उनको भरतपुर सरकारी अस्पताल चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।