रोटरी क्लब अफ नवलपुर कावासोतीले निशुल्क न्यूरो स्वास्थ्य शिविर गर्ने


 



रोटरी क्लब अफ नवलपुर कावासोतीले कावासोतीमा एक दिने निशुल्क न्यूरो स्वास्थ्य शिविर गर्ने भएको छ ।




मध्यविन्दु प्रादेशिक अस्पताल कावासोती १६ डण्डामा सञ्चालन गरिने निशुल्क न्यूरो स्वास्थ्य शिविरमा वरिष्ठ न्यूरो सर्जन डा. कुमार पौडेल लगायतका स्वास्थ्यकर्मीहरु स्वास्थ्य परीक्षण गर्ने छन् ।

कार्यक्रम मध्यविन्दु प्रादेशिक अस्पताल र पुष्पाञ्जली अस्पताल प्रालि भरतपुर चितवनको प्राविधिक सहयोगमा हुने रोटरी क्लब अफ नवलपुर कावासोतीका अध्यक्ष कृष्ण अर्यालले जानकारी दिनुभयो ।

समुदायमा न्यूरो अर्थात स्नायु सम्बन्धी स्वास्थ्य समस्याबारे जागरूकता बढाउने उद्देश्यले एक दिने निःशुल्क न्यूरो स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको छ।

शिविरमा टाउको, मष्तिस्क, मेरुदण्ड, स्नायू, नशा, ढाड, कम्मर, छारे रोग, अल्जाइमर जस्ता रोगहरूको जाँच, परामर्श तथा जोखिम मूल्यांकन गरिनेछ।

शिविरमा आधुनिक मेसिनहरुबाट जाँच सेवाहरू उपलब्ध हुनेछ। यसका साथै, विशेषज्ञ चिकित्सकहरूको टोलीले प्रत्यक्ष स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा उपचार सम्बन्धी सुझाव निःशुल्क रूपमा प्रदान गर्नेछन्।

रोटरी क्लब अफ नवलपुर कावासोतीका अनुसार समुदायका सर्वसाधारण, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा स्नायु नशा सम्बन्धी जोखिम भएका व्यक्तिहरूका लागि यो शिविर विशेष उपयोगी बन्ने अपेक्षा गरिएको छ।

क्लबले सबैलाई स्वास्थ्यकालाई प्राथमिकता दिन, जाँच गराउन तथा अवसरको अधिकतम उपयोग गर्न आग्रह गरेको छ। शिविरका लागि सुमनकुमार श्रेष्ठको नेतृत्वमा प्रचारप्रसार समिति, अर्जुन सापकोटोको नेतृत्वमा व्यवस्थापन समिति र मदन गिरीको नेतृत्वमा स्वयम् सेवक परिचालन समिति समेत गठन गरिएको छ ।



सम्बन्धित
Loading...