नवलपुरमा एकै दिन २ जनाको शव फेला 




नवलपुर । नवलपुरको कावासोती र चोरमारा गरी दुई स्थानमा दुई जनाको शव फेला परेको छ ।

नवलपुरको कावासोती १० मगरकोट वडा कार्यालय अगाडि खेतमा एक जना पुरुषको शव विभत्स अवस्थामा फेला परेको छ ।

सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका ९ निवासी बर्ष ४२ को रामहरी बि.क. को शव विभत्स अवस्थामा फेला परेको नवलपुर प्रहरीले जनाएको छ ।

कावासोती ९ को नेपाल इट्टा भट्टामा विगत केही दिन देखि काम गर्दै आएका उनी गएराति साथीहरुसँग रक्सी खाएर झगडा भएको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानसिक सन्तुलन ठिक नभएका उनले विहान पख आफ्नै साथीहरुसँग झगडा गरेर आफैले आफैलाई ढुंगाले टाउकोमा प्रहार गरेका थिए ।

आफूले प्रहार गरेर घाइते भएका उनलाई उपचारको लागि मगरकोटको स्थानीय एटुजेड मेडिकलमा उपचारका लागि ल्याएका थिए । सोही क्रममा उनी पुन त्यहाँबाट भागेको स्थानीयले जनाएका छन् ।

आज दिउँसो पौने ४ बजेतिर स्थानीयले मगरकोटको खेतमा मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना स्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाएको छ ।

त्यसैगरी विवाहमा जान्छु भनि घरबाट हिडेका नवलपुरका कावासोतीका १ जना पुरुष चोरमाराको उकालोमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ५ घर भई हाल कावासोती नगरपालिका ३ थारु टोल बस्दै आएका जितबहादुर उपाध्याय आज विहान चोरमाराको उकालोमा मृत फेला परेका हुन् ।

उनी सडकमा अत्यधिक जाडोका कारण कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

उनको शरिरमा चोटपटक नदेखिएको र उनको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...