बर्दघाट घटनाः उद्योग बन्द गरेर छानविन गर्ने सहमति पछि दुई मजदुरको शव उठ्यो, उद्योग शिल 




रामकुमार श्रेष्ठ –

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई मजदुरको सुतिरहेकै अवस्थामा शंकास्पद मृत्यु भएको छ ।




उद्योगको लापरबाहीका कारण मजदुरको मृत्यु भएको भन्दै आक्रोशित मृतकका आफन्त र स्थानीयहरुले उद्योग घेराउ गरेका छन् । घटनाको छानबिन गर्न माग गर्दै उनीहरुले दिनभर शव उठाउन दिएका थिएनन् । गएराति उद्योगमा काम गरेर कोठामा सुतेका एक भारतीय र नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षिय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला ६६ ग्राम पोष्ट बस्ने ३० वर्षिय विनोद कुमार रहेका छन् । उनीहरुको कम्पनीमा ग्यास लिग भएर मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् ।

उद्योगले जाम भएको ग्यास खोल्न पठाएको र खोल्ने क्रममा निसासिएर उनीहरुको मृत्यु भएपश्चात घटना ढाकछोप गर्न नजिकै रहेको कोठामा लगेर सुताएको अन्य मजदुरलाई उद्दृत गर्दै स्थानीयले आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक शुशिल घिमिरेले अहिलेलाई उद्योग शिल गरेर घटनाको अनुसन्धान गर्ने सहमति पछि शव उठेको छ । प्रहरीले घटनाको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरी निरीक्षक शुशिल घिमिरले बताए ।

परासी जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि विशेषज्ञ चिकित्सक नभएकाले शवको फरेन्सिक जाँच गर्न प्रादेशीक अस्पताल बुटवल पठाइएको उनले बताए । मृतक दुबै जना ग्यासी फायर (अग्नी नियन्त्रण) प्लान्ट काम गर्ने मजदुर रहेको उद्योगले जनाएको छ ।

उनीहरु उद्योगको ग्यासी फायरको पोकिङ फ्लोरमा एकै ठाउँमा गत्ता ओछ्याएर सुतेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए । प्रहरीले मृतकहरूको शरिरमा बाहिरी कुनै चोट नदेखिएको जनाएको छ ।

यता घटनाबारे उद्योगका जनसम्पर्क वरिष्ठ प्रबन्धक रमेश न्यौपानेले ग्यास लिग नभई कोठामा सुतेको अवस्थामा अक्सिजनको कमि भएर मृत्यु भएको हुन सक्ने बताए । स्थानीय बासिन्दा र पीडित परिवारका आफन्तले उद्योग घेराउ गर्दै दिनभर प्रदर्शन गरेका थिए ।

स्थानीय बासिन्दा, पीडित परिवार र प्रहरी, प्रशासनबीच छलफल पछि उद्योग शिल गरिएको र शव पोष्टमार्टमका लागि पठाइएको प्रहरी निरीक्षक शुशिल घिमिरले बताए । उनले उद्योगको अवस्था र घटना स्थल हेर्दा निशासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको बताए । तथापि उनले पोष्टमार्टम रिपार्ट आएपछि मात्र थप कारवाही अगाडि बढ्ने बताए ।

कारखानामा कार्यरत मजदुरहरुका अनुसार घटना शंकास्पद देखिएको छ । दुई जना होमबहादुर थापा र विनोद कुमार दुई जनाको मृत्यु भएको विहानै जानकारी भए पनि उद्योग प्रशासनले प्रहरी र मृतकका आफन्तलाई विहान ८ बजेपछि मात्र खबर गरेका थिए ।

उद्योग प्रशासनले प्रहरी र आफन्तलाई खबर गर्न ढिलो गरेपछि घटना थप शंकास्पद देखिएको स्थानीय बासिन्दाहरुले बताएका छन् । स्थानीय बासिन्दा र आफन्तले उद्योग बन्द गरेर घटनाको छानविन गर्न माग गर्दै दिनभर उद्योग परिषरमा प्रदर्शन गरेका थिए ।

स्थानीय र आफन्तको माग अनुसार उद्योग बन्द गरेर घटनाको छानविन गर्ने सहमति भएपछि स्थानीयले शव उठाउन दिएको थियो ।



सम्बन्धित
Loading...