प्रतिनिधि सभा निर्वाचनः एमालेले नवलपुरबाट गर्यो उम्मेदवारको नाम सिफारिस

रामकुमार श्रेष्ठ –
नवलपुर । प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचनका लागि नेकपा एमालेले नवलपुर क्षेत्र नम्बर २ बाट एमाले केन्द्रिय सदस्य तिलक महतको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
तिलक महत २०७४ को निर्वाचनमा नवलपुर २ बाट निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा नेपाली काँग्रेसका विष्णु कार्कीसँग पराजित भएका थिए ।
त्यसैगरी नवलपुर क्षेत्र नं. १ बाट एमालेले ८ जनाको नाम सिफारिस गरेका नेकपा एमाले नवलपुरले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि नवलपुर १ बाट देवचुली नगरपालिकाका नगरप्रमुख र उनका स्वकीय सचिव सहित ८ जनाको नाम नेकपा एमालेले उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरि न्यौपाने, उनका स्वकीय सचिव, सागर न्यौपाने सहित ८ जनाको नाम सिफारिस गरिएको नेकपा एमाले नवलपुरले जनाएको छ ।
त्यसैगरी नवलपुर १ बाट एमालेले रविन्द्र अधिकारी, डाक्टर गोपाल खनाल, छत्रराज पौडेल, भागिरथ सापकोटा, गोपेन्द्र केशरी न्यौपाने र तिलोत्तम पौडेलको नाम पनि सिफारिस गरेको छ ।
नवलपुर १ बाट ३ पटकदेखि लगातार काँग्रेस नेता डा. शशांक कोइराला निर्वाचित भएको क्षेत्र हो ।