गैडाकोटमा ट्रकको ठक्करबाट पैदल यात्रुको निधन, अर्को दुर्घटनामा २ जना घाइते

रामकुमार श्रेष्ठ –
नवलपुरको गैडाकोटमा आज विहान ट्रकको ठक्करबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी गैडाकोट ५ निवासी अन्दाजी ८२ बर्षीय पुरुष यमनाथ पौडेलेका मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट ५ बुद्धमार्ग चोकमा ग १ ख ६६०५ नम्बरको ट्रकले पैदल यात्री पौडेललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते पौडेललाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर चितवन लगिएकोमा उनको उपचारको क्रममा ८ बजेतिर मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
त्यसैगरी नवलपुरको गैडाकोट ८ विजय चोकमा भएको अर्को दुर्घटनामा ३ जना घाइते भएका छन् ।
ना २ ह ४०५० नम्बरको अटो र प्रदेश २–०३–००२ प ३१९३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
दुर्घटनामा परी अटो चालक गैंडाकोट नगरपालिका वडा नं. ७ बस्ने बर्ष ५२ को धन बहादुर कुमाल, मोटरसाइकल चालक रौतहट जिल्लाको कटरिया नगरपालिका ६ निवासी २० बर्षीय अनिल साहानी र मोटरसाइकल पछाडि सवार सर्लाही जिल्लाको बरथवा नगरपालिका ११ निवासी २० बर्षीय दिलिप कुमार यादव घाइते भएका छन् ।
उनीहरुलाई उपचारको लागि चिवतन मेडिकल कलेज भरतपुर पठाइएको छ ।
गैडाकोट क्षेत्रमा दैनिक जसो सवारी दुर्घटना हुने गरेको छ ।