बस भित्रै एआई तालिम (भिडियो सहित)




नवलपुर । नवलपुरको कावासोती १६ डण्डामा बस भित्रै स्वरोजगारका लागि नविनतम डिजिटल प्रविधि सम्बन्धी तीन दिने क्षमता अभिबृद्धि तालिम भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको आयोजनामा तालिम भएको हो ।

तालिममा थारु, माझी, मुसहर, बोटे लगायत समुदायका २० जना सहभागि रहेको कम्प्युटर इन्जिनियर एवं प्रशिक्षक खेमराज पोख्रेलले जानकारी दिए । सूचना प्रविधिको प्रयोग गरेर आय आर्जन कसरी गर्न सकिन्छ भनेर युवाहरुलाई सिकाइएको उनले बताए ।




सहभागिहरुलाई नाष्टका आर्टिफिसियल इन्टलीजेन्स (एआइ), डिजिटल मार्केटिङ तथा डाटा एनालाइसिस्का विज्ञहरुले तालिम दिने छन् । प्रविधिको पहुच कम भएका समुदायका युवाहरुलाई सूचना प्रविधिको प्रयोग गरी आर्यआर्जन गर्न तालिम फलदायी हुने नाष्टका बैज्ञानिक एवं प्रशिक्षक प्रदीप ढोडारीले बताए । डिजिटल खाडल कम गर्ने र सूचना प्रविधि शिक्षा बढाउने उद्देश्यले थारु संग्राहलयको आग्रहमा यो तालिम आयोजना गरिएको उनको भनाइ छ ।

तालिममा सामाजिक सञ्जाल फेसबुक मोनिटाइजेशन गर्न, बुस्ट गर्न, फेसबुक रिल र युट्यबका सामागी राम्रा र गुणस्तरीय बनाई आयआर्जनमा जोड्ने उपाय सिकाइएको थियो ।

त्यस्तै बजारमा आएका नयाँ नयाँ सामानलाई प्रचारमुखी बनाउन, साइबर सुरक्षा र बैंकिङ सुरक्षा कसरी गर्ने लगायत विषयमा पनि तालिममा सिकाइएको थियो ।

प्रशिक्षक एवं नाष्टका बैज्ञानिक ढोडारीले सन २०२२ देखि हालसम्म सातै प्रदेशका १४ हजारभन्दा बढीलाई यस्तो तालिम दिएको बताए । खासगरी सरकारी विद्यालयका विज्ञान शिक्षक, प्रहरी र पछाडि पारिएको समुदायका युवालाई तालिम लक्षित गरिएको उनको भनाइ छ ।

बैज्ञानिक ठकारीका अनुसार अत्याधिक सुविधा सम्पन्न यो गाडी कोरिया सरकारले सहयोग स्वरुप उपलब्ध गराएको हो । यसमा गाडी भित्रै वाईफाइ, साउण्ड सिस्टम, कम्प्युटर, ल्यापटप, प्रोजेक्टर, जेनेरेटर लगायत सम्पूर्ण सुविधा रहेको उनले जानकारी दिए । तालिमा सहभागि प्रशिक्षकको पारिश्रमिक नेपाल सरकारले नै व्यहोर्नेछ भने उहाँहरुको आवासीय खर्च थारु संग्राहलयले व्यहोर्नेछ ।

 

 



सम्बन्धित
Loading...