ट्रकमा च्यापिएका कावासोतीका युवकको साढे ४ घण्टामा उद्दार

नवलपुर – नवलपुरको कावासोती नगरपालिका–१६ स्थित चालिसकिलो जंगलमा ट्रकमा च्यापिएका सहचालकको साढे ४ घण्टा पछि उद्दार गरिएको छ ।
कावासोतीबाट चोरमारातर्फ जाँदै गरेको मधेष प्रदेश ०३–००१ ख ८४७२ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ४० फिट तल खसेको थियो।
कावासोती ९ का २३ वर्षीय सहचालक सन्दिप परियारको उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
बिहान करिब साढे ४ बजेतिर दुर्घटनामा परी ट्रकको स्टेरिङ र इन्जिनको भागमा च्यापिएका उनलाई ९ बजे तिर उद्दार गरिएको थियो ।
प्रहरी, सशस्त्र प्रहरी, कावासोती नगरपालिकाको क्रेन, स्थानीय व्यवसायी र सर्वसाधारणको संयुक्त प्रयासमा उनलाई उद्धार गरिएको हो ।
अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ। उनको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।