विद्यालयको गम्भीर लापरवाही, प्राङ्गण भित्रै स्कूल बसको ठक्करबाट ४ बर्षीया विद्यार्थीकोे मृत्यु




कुसुम परियार – 
नवलपुर । नवलपुरको एक विद्यालय प्राङ्गणमै बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । देवचुली नगरपालिका–१ केउरेनीस्थित नेपाल नमुना माध्यामक विद्यालयको प्राङ्गणमा सोही विद्यालयको लु १ क ३८१४ नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत बालिकालाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट कक्षा नर्सरीमा अध्यनरत बारा जिल्लाको कलैया नगरपालिका–६ घर भई हाल देवचुली नगरपालिका–१४ सातघरे बस्ने ४ वर्षीया सुस्मा कुमारी पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक विरेन्द्रराज गुरङले जानकारी दिए ।




बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा घाईते भएकी बालिकालाई तत्काल उपचारको लागि देवचुली नगर अस्पताल दुम्कौली पठाएकोमा उपचारको क्रममा बिहान १० बजे मृत्यू भएको गुरुङले जानकारी दिए । बसका चालक देवचुली नगरपालिका–१ राममन्दिर वस्ने ५१ वर्षीय जगनाथ लम्साललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैबीच मृतकका आफन्तले चालकलाई कारवाहीको माग राख्दै दिनभर विद्यालयमा घेराउ गरेका थिए । मृतक आफन्तले जिल्ला प्रहरी कार्यालय नवलपुरमा चालकलाई सवारी सञ्चालन ऐन अनुसार कारवाहीको माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मृतकको शव साँझ पख पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएको छ । विद्यालयका प्रधानाध्यापक शिव देवकोटाले विद्यालयमा भएको घटनाका विषयमा दिन भर विद्यालयमा छलफल भएको जानकारी दिंदै मृतकको शव मंगलबार पोष्टमार्टम गरी आफन्तलाई बुझाउने जानकारी दिए ।

यसैबीच विद्यालयले एक सूचना जारी गरी अर्को सूचना प्रकाशन नभएसम्मका लागि विद्यालय बन्द गरिएको जनाएको छ ।

स्कूल बसले विद्यार्थीलाई बसबाट ओरालेर अर्को विद्यार्थी समूहलाई लिन जान खोज्दा बस ब्याक गर्दा उक्त बालिकालाई बसले ठक्कर दिएको थियो ।

स्कूल बसमा सो समय सहचालक नभएका कारण यस्तो घटना भएको स्थानीयले बताएका छन् । मृत्यु भएकी बालिका माघ ९ गतेको सरस्वती पूजाका दिन मात्र विद्यालय भर्ना भएकी थिइन् ।



सम्बन्धित
Loading...