युवामा अनुशासन र राष्ट्रसेवाको भावना विकास राज्यको प्राथमिकताः प्रधानमन्त्री कार्की

नवलपुर ।
प्रधानमन्त्री सुशीला कार्कीले युवामा अनुशासन, नैतिकता र राष्ट्रप्रतिको जिम्मेवारी विकास गर्नु राज्यको मुख्य प्राथमिकता भएको बताएकी छन्।
नवलपुर जिल्लाको कावासोती १ हात्तीखोर स्थित राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा बोल्दै उनले अनुशासित र चरित्रवान् युवा नै राष्ट्र निर्माणको बलियो आधार भएको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले तालिमले युवालाई राष्ट्रसेवा, नेतृत्व विकास र विपतका वेला स्वयंसेवामा सक्षम बनाएको बताउँदै दीक्षित क्याडेटहरूलाई अनुशासनलाई जीवनशैली बनाउन आग्रह गरिन्।
उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै निकायप्रति धन्यवाद दिँदै राष्ट्रिय सेवा दलको दायरा आगामी दिनमा थप विस्तार गरिने प्रतिबद्धता व्यक्त गरिन्।
दिक्षान्त समारोहमा १८ वटा विद्यालयका ५ सय ३० लाई दीक्षित गरिएको थियो ।
प्रधानमन्त्री कार्कीले युवाहरु देशका जिम्मेवार नागरिक मात्र नभएर भोलिका सक्षम नेतृत्व पनि भएकोमा जोड दिंदै युवाहरु संविधान, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षा गर्दै देशको सेवा गर्न सधैं अग्रसर हुनु पर्नेमा जोड दिए ।