नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल

नवलपुर । नवलपुर जिल्लामा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशिल निर्वाचन क्षेत्रको रुपमा तय गरिएको छ ।
१ सय १४ वटा निर्वाचन स्थल तथा ३ सय ११ मतदान केन्द्र रहेको नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल, ५० वटा संवेदनशिल र ५३ वटा निर्वाचन स्थल सामान्य रहेको वर्गीकरण गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले बताए ।
प्रतिनिधि सभा निर्वाचनका लागि २ वना निर्वाचन क्षेत्र रहेको नवलपुर जिल्लामा निर्वाचन क्षेत्र नं. १ का लागि ५८ वटा र निर्वाचन क्षेत्र नं. २ का लागि ५६ वटा गरी १ सय १४ वटा निर्वाचन स्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका कार्यालय प्रमुख लालप्रसाद भुसालले बताए ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार नवलपुरमा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा निकायले निर्वाचन स्थलको रेकी गर्न शुरु गरिसकेको छ ।
यहाँ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी ४ वटै तहको सुरक्षा घेरामा निर्वाचन स्थलको सुरक्षा गरिने छ ।
सुरक्षाकर्मीहरुले अहिलेदेखि नै नवलपुर जिल्लामा निर्वाचनलाई लक्षित गरी मोबाइल फोर्स, पैदल गस्ती, सादा पोशाकमा गस्ती लगायतका गतिविधि बढाई सकेको छ ।
त्यसैगरी निर्वाचन स्थलमा निर्वाचन कर्मचारीसँगै सुरक्षाकर्मी पठाइने छ । निर्वाचनको मिति भन्दा ४ दिन अगाडि नै निर्वाचन स्थलमा कर्मचारीहरु निर्वाचनको तयारीका लागि खटाइने उनले बताए ।
नवलपुर निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३७ हजार ८१ जना मतदाता र निर्वाचन क्षेत्र नं. २ मा १ लाख ३१ हजार ४ सय ४५ जना मतदाता रहेका छन् ।