मतदाताको घरघरमा मत माग्न व्यस्त तिलक महत

नवलपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नवलपुर–२ मा चुनावी माहोल दिनदिनै तातिँदै गएको छ । फागुन २१ को मतदान मिति नजिकिँदै गर्दा नेकपा एमालेका उम्मेदवार तिलक महत यतिबेला मतदाताको घरदैलोमै पुगेर राय–सुझाव संकलनमा व्यस्त देखिएका छन्।
उनले बुधबार कावासोती नगरपालिका–३ का विभिन्न टोलबस्तीमा पुगेका महतले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका अपेक्षा, गुनासा र सुझाव सुने। घरआँगनमै पुगेका उम्मेदवारलाई स्थानीयले खुलेर आफ्ना समस्या राखेका थिए। महतले ती सबै विषयलाई गम्भीरतापूर्वक मनन् गर्दै आगामी योजना निर्माणमा समेट्ने प्रतिबद्धता जनाए।
“मतदाताले देखेका सपना नै मेरो सपना हो, त्यही नै मेरो योजना हो,” घरदैलोका क्रममा महतले मतदातासँग भने, “नवलपुरको समृद्धिका लागि म सधैं जनताको साथमा छु र रहनेछु।”
उनले विगतमा सुरु गरिएका तर अधुरा रहेका केही योजनालाई पूर्णता दिने र जिल्लाको विकासको आयामलाई थप उचाइमा पुर्याउने नयाँ कार्यक्रम अघि सार्ने प्रतिबद्धता व्यक्त गरे। विकास, रोजगारी, पूर्वाधार र सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेर आफू अघि बढ्ने उनको भनाइ थियो।
घरदैलो कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको थियो। वृद्धवृद्धादेखि युवा र महिलासम्मले आफ्ना अपेक्षा राख्दै विकासका मुद्दामा केन्द्रित राजनीति आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
यसैबीच, एमालेले आफ्नो चुनावी अभियानलाई थप सशक्त बनाउँदै कावासोती–१७ मा वडा सम्पर्क कार्यालय उद्घाटन गरेको छ। उक्त कार्यालयको उद्घाटन उम्मेदवार महतले नै गरेका हुन्। उनले कार्यालयलाई जनताको आवाज सुन्ने र संगठनलाई मजबुत बनाउने केन्द्रका रूपमा प्रयोग गरिने बताए।
चुनावी अभियान तीव्र बन्दै जाँदा नवलपुर–२ मा महतको घरदैलो अभियानले स्थानीय स्तरमा नयाँ ऊर्जा थपेको कार्यकर्ताहरूको दाबी छ। जनताको विश्वास र साथलाई शक्ति मानेर अघि बढिरहेका महतले फागुन २१ लाई “नवलपुरको समृद्धिको नयाँ शुरुवात” बनाउने आह्वान गरेका छन्।