कावासोतीमा फागुन ८ देखि एचपिभी खोप




रामकुमार श्रेष्ठ –
नवलपुर (कावासोती) । नवलपुरको कावासोती नगरपालिकामा फागुन ८ गतेदेखि कक्षा ६ मा अध्ययनरत ८ सय बढी बालिकालाई एचपीभी खोप लगाइने भएको छ ।

यो खोप महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सबाट बच्नका लागि लगाइने खोप हो । कावासोती नगरपालिकाले आज कावासोतीका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी लगायतलाई गरेको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराएको हो ।




नवलपुरमा एचपीभी खोप गत बर्षदेखि लगाइदै आएको छ । जस अन्तरगत गत बर्ष कक्षा ६ देखि कक्षा १० सम्मका बालिका र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका बालिकालाई यो खोप लगाइएको थियो ।

यस बर्ष नवलपुरमा कक्षा ६ मा अध्ययनरत बालिका, गत बर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि कक्षा १० सम्मका बालिका र विद्यालय बाहिर रहेका १० बर्ष उमेर समूहका बालिकालाई यो खोप लगाइने छ ।

 

जस अन्तरगत कावासोतीमा ३८ वटा विद्यालयका ८ सय १० जना भन्दा बढी बालिकालाई एचपिभी खोप लगाइने कार्यक्रममा जनाइएको थियो । कावासोतीमा फागुन १२ गतेसम्म एचपिभी खोप विद्यालयमै पुगेर लगाइने जनाइएको छ ।

कार्यक्रममार्फत खोप अभियान प्रभावकारी बनाउने विषयमा छलफल गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
कार्यक्रममा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसाल, उपप्रमुख फूलकुमारी थनेत लगायतले एचपिभी खोप कार्यक्रम प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

नवलपुर जिल्लामा यस बर्ष ३ हजार ६ सय बढी बालिकालाई एचपिभी खोप लगाउने लक्ष्य रहेको प्रदेश स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख केशवप्रसाद चापागाईले बताए ।

जस अन्तरगत नवलपुरमा शुक्रबारदेखि एचपिभी खोप लगाउन शुरु गरिएको छ । नवलपुरमा फागुन १३ गतेसम्म एचपिभी खोप लगाइने छ ।



सम्बन्धित
Loading...